गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार


समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । १५७औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ११ गते सो पुरस्कार प्रदान गरिने गजल सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए ।

सन्ध्याका पूर्वअध्यक्ष दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, वसन्त विनोद र त्रुपक सदस्य रहेको प्रतिभा छनोट समितिले गजलकार गौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गजल सन्ध्याले जनाएको छ । 
स्याङ्जाको अर्जुनचौपारीमा वि. सं. २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ गजल सङ्ग्रह प्रकाशित छ । अनाममण्डलीका पूर्वमहासचिवसमेत रहेका गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन् । शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनका गीत र कविता पनि चर्चित छन् । 

नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको सो पुरस्कार एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान भनेर अर्पण गरिँदै आएको छ । यसअघि सो पुरस्कारबाट रूपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर.के. अदीप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रमसँगै नेपाली गजलमा मोतीरामको योगदानको चर्चासमेत गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए ।

Logo