जनकपुरमा बिरामी छोडेर भागे डाक्टर

जनकपुरमा बिरामी छोडेर भागे डाक्टर


उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्द चोकस्थित सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका-१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। उपचारमा संलग्न डाक्टरको लापर्वाहीको कारण सोनियाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका थिए। आक्रोशित समूहले हिजो साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गर्नुका साथै सडक समेत अवरुद्ध पारेका छन्। 

उक्त घटनापछि चिकित्सकहरू अस्पताल छाडेर भागेको र अस्पतालका बिरामीलाई पनि अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले अस्पताल प्रशासनले भएका बिरामीलाई अन्यन्त्रै सारेर डाक्टरहरु भागेको जानकारी दिएका छन्। घटनाबारे थप छानविन भइरहेको उनले बताए।

बुधबार पाठेघरको शल्यक्रियाका लागि सुरक्षा अस्पतालमा भर्ना भएकी साहको शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएको थियो। साहको मृत्यु पश्चात् चिकित्सक तथा अस्पतालका स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर उनको शव अन्यत्र लैजाने कोशिस गरेको थिए।

सोहि क्रममा मृतकका आफन्तहरूले अस्पताल घेराउ गरेर प्रर्दशन गरे।  अस्पतालमा बिरामीका आफन्त र स्थानीय प्रशासनले हिजै ताला लगाएको छ। आज पनि ताला खुलाउने प्रयास भएको छैन। 

Logo