वैदेशिक रोजगार बचतपत्रमा छैन आकर्षण, १० वर्षमा ५ प्रतिशत मात्रै विक्री

वैदेशिक रोजगार बचतपत्रमा छैन आकर्षण, १० वर्षमा ५ प्रतिशत मात्रै विक्री


  • कमला अर्याल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विगत दश वर्षदेखि निष्काशन गर्दै आएको वैदेशिक रोजगार बचतपत्रको विक्री निकै निराशाजनक देखिएको छ ।

प्रशस्त प्रचार प्रसारको अभाव तथा कामदारहरुले चासो नराखेका कारण पनि वैदेशिक रोजगार बचतपत्रमा आकर्षण हुन सकेको छैन । राष्ट्र बैंकले आर्थिक वर्ष ०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न सुरु गरेको थियो । राष्ट्र बैंकले सो समयदेखि आर्थिक वर्ष ०७४/७५ सम्म लगातार निष्काशन गर्‍यो । यो अवधिसम्म राष्ट्र बैंकले ११ अर्ब ७ करोड ९७ लाख रुपैयाँ बराबरको वचतपत्र निष्काशन गरे तर विक्रि भने ५८ करोड ६८ लाख रुपैयाँ मात्रै भएको छ । दश वर्षको अवधिमा कुल निष्काशनको जम्मा ५.२९ प्रतिशत मात्रै विक्रि भएको छ । गत वर्ष सरकारले आन्तरिक ऋण ढिलो निष्काशन गरेकाले राष्ट्र बैंकले आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेन । तर यो वर्ष देखि पुनः निष्काशन गर्न सुरु गरेको छ ।

राष्ट्र बैंकले यस वर्ष १ अर्ब रुपैयाँ बराबरको वचतपत्र निष्काशन गर्ने लक्ष्य राखेको छ । जसमा पटक पटक गरी ६० करोड रुपैयाँ बराबरको निष्काशन गरिसकेको छ भने विक्रि जम्मा २३ लाख रुपैयाँ बराबरको भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि ९ देखि १० प्रतिशत दिँदै आएको छ । ब्याजदर राम्रो भएपनि यसमा आकर्षण नै बढ्न सकेको छैन । राष्ट्र बैंकका अनुसार यस बचत पत्रको व्याज छ/छ महिनामा उपलब्ध गराइन्छ ।

किन भएन आकर्षण ?
वैदेशिक बचतपत्रमा आकर्षण नहुनुमा प्रचारप्रसारको नै अभाव भएको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन् । बैंकहरुले मुद्धति निक्षेपमा दिने ब्याजदर ९ प्रतिशतको हाराहारीमा छ । वैदेशिक रोजगार बचतपत्रको ब्याजदर ९ देखि १० प्रतिशत छ । त्यसैले ब्याजदरमा धेरै ठूलो अन्तर नभएकाले पनि यसप्रतिको आकर्षण नभएको बताइएको छ ।

कसरी बढाउने आकर्षण ?
सबैभन्दा पहिले त ब्याजदर नै मुख्य कुरा हो । आकर्षण बढाउन राष्ट्र बैंकले यस बचतपत्रको ब्याजदर वृद्धि गर्न सक्छ । त्यसका साथै प्रचारप्रसारमा जोड दिन सक्छ ।

बाह्रै महिना निष्काशन गर्ने
वैदेशिक रोजगार बचतपत्र सरकारको आन्तरिक ऋण निष्काशन गर्ने एउटा औजार हो । प्रवक्ता भट्ट बाह्रै महिना यस्तो बचत पत्र निष्काशन गर्ने बताउँछन् ।

के हो वैदेशिक रोजगार बचतपत्र ?
मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी सरकारले निश्चित ब्याजदर तोकी नेपाली रूपैंयाँमा जारी हुने मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्र ५ वर्षे अवधिको निष्काशन गरिन्छ ।

यसको उद्देश्य
यो बचतपत्र निष्काशनको प्रमुख उद्देश्य मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक वा गैर–आवासीय नेपालीले विदेशमा आर्जन गरेको रकम लगानी गर्न प्रोत्साहित गर्ने, वैधानिक माध्यमबाट विदेशी मुद्रा भित्र्याउने र देश विकासको निमित्त वित्तीय साधन जुटाउने भन्ने हो ।

यी हुन् वैदेशिक रोजगारपत्रका खरिदकर्ता
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आपूm वा आफ्नो एकाघर परिवारका सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) को नाममा खरिद गर्न सक्दछन् । साथै, मुलुक बाहिरको रोजगारीमा संलग्न भई फर्केकाले पनि फर्केको चार महिनाभित्र यो बचतपत्र खरिद गर्न सक्ने व्यवस्था छ । खरिद गर्न सकिने रकम घटीमा ५ हजार रूपैंयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५ हजार रूपैंयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।

खरिद गर्न आवश्यक कागजातहरू
आवेदनकर्ताको राहदानीको प्रतिलिपि, कार्यरत मुलुकको भिसाको प्रतिलिपि (भारतबाहेक अन्य मुलुकमा कार्यरत श्रमिकका लागि मात्र), कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साईजको दुई प्रति फोटो,नेपालमा खरिद गर्नुपर्ने अवस्थामा वैदेशिक रोजगार बचतपत्र खरिदको लागि प्रयोग भएको नेपाली मुद्रा बराबरको विदेशी मुद्रा वैधानिक माध्यमबाट नेपाल भित्रिएको हो भन्ने प्रमाणको रूपमा विदेशी मुद्रा सटही रसिद सहितका कागजातहरु ।

Logo