लाजले रोग लुकाउँदै कालिकोटका महिला

लाजले रोग लुकाउँदै कालिकोटका महिला


कालिकोट

नरहरिनाथ गाउँपालिका–१ की दुरी विकले एक सातासम्म निरन्तर रगत बग्दा पनि कसैलाई खबर गरिनन् । उनी ४ महिनाकी गर्भवती हुन् । दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले जानकारी पाए ।

उनले पत्नीलाई कुमालगाउँस्थित स्वास्थ्य चौकी पुर्‍याए । उनको समस्या निरन्तर बढ्दै गएपछि त्यहाँका हेल्थ असिस्टेन्टले जिल्ला अस्पताल कालिकोट रेफर गरे । पुस ७ गतेदेखि थला परेकी उनलाई तत्काल रगत चढाउनुपर्ने कुमालगाउँका चिकित्सको सल्लाह अनुसार सात जना युवाले १४ पुसमा दिनभर स्टेचरमा बोकेर जिल्ला अस्पताल कालिकोट पुर्‍याए । ‘दैनिक रगत बग्न थाले पनि उनले मलाई भनिनन्, घरको काम गर्दै थिइन्’, पति अम्मरेले भने, ‘जब उनी कामै गर्न नसक्ने अवस्थामा पुगिन् । अनि मात्रै थाहा पाएँ, लगत्तै स्वास्थ्यचौकी पुर्‍याएँ ।’

तीन दिन जिल्ला अस्पतालमा उपचार गरेपछि उनी घर फर्किएकी छन् । दुई छोरीकी आमा दुरीले भनिन्, ‘सामान्य रगत बग्दै थियो, घरमा भन्नै लाज लाग्यो, आफैं सन्चो होला भन्ने आशाले काम गरिरहेकै थिएँ । चार दिनपछि उठ्नै नसक्ने भएपछि उहाँले थाहा पाउनुभयो, अस्पताल आयौं ।’

यस्तै, पचालझरना गाउँपालिका–२ निवासी ठिट्टु सार्कीको अवस्था उस्तै छ । उनी जिल्ला अस्पताल कालिकोटमा उपचाररत छिन् । तीन महिनाकी गर्भवती सार्कीको पनि आफैं रगत बग्न थाल्यो । पति रोजगारीका लागि भारतमा रहेकाले कसैलाई समस्या भन्न सकिनन् । तर पीडा सहनै नसक्ने भएपछि मात्रै उनले छिमेकीलाई रत्तस्रावबारे जानकारी दिइन् ।

पछिल्लो समय गर्भपतनका लागि स्वास्थ्यकर्मीको सम्पर्कबिनै मेडिकलको औषधि प्रयोग गर्ने र रक्तस्राव भएपछि अस्पताल आउने गरेको डा. नहकुल शाहीले बताए ।

चेतना अभाव र लाज मान्ने प्रवृत्तिका कारण कर्णालीका अधिकांश गर्भवती महिला अस्पताल नपुग्दै मृत्युवरण गर्न वाध्य छन् । जिल्ला अस्पताल कालिकोटका इमरजेन्सी इन्चार्ज दीपबहादुर रावलले बर्सेनि करिब ६०/७० जना महिला रक्तस्रावको समस्या लिएर उपचार गर्न आउने गरेको बताए ।
अन्नपूर्णबाट

Logo