भारतको संसद अगाडी हजारौ किसानको प्रदर्शन

भारतको संसद अगाडी हजारौ किसानको प्रदर्शन


नयाँ दिल्ली
भारतको संघीय संसद भवन अगाडी दशौँ हजार किसानहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।

कृषक र कृषि क्षेत्रमा काम गर्नेहरुले कृषि ऋण, फसलको उच्च मुल्य लगायतका माग राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताएका छन् । सन् २०१९ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा प्रधानमन्त्रीलाई आफ्नो मागहरु पुरा गराउन दवाव दिन किसानहरुले प्रदर्शन गरेका हुन् ।

सिंचाईको अभाव, फसलबाट हुने घाटा र ऋण तिर्न नसकेर भारतमा झण्डै तीन लाख भन्दा बढी किसानहरुले गत दुई दशकमा मृत्युवरण गरेका छन् । प्रदर्शनका लागि ती किसानहरु गत बिहीबार देखि नै राजधानीमा भेला भएका थिए । उनीहरु बस र रेलमा दिल्ली आइपुगेका हुन् । संसद अगाडी प्रदर्शन गर्न पुग्नु अगाडी उनीहरू राजधानीको रामलीला मैदानमा भेला भएका थिए ।

प्रदर्शनमा झण्डै ८० हजार जना किसान तथा कृषि मजदुरहरु सहभागी भएको आयोजकहरुले जानकारी दिएका छन् । यो प्रदर्शन भारतमा सन् २०१२ पछिकै सवै भन्दा ठूलो प्रदर्शन भएको बताइएको छ । सन् २०१२ मा एक जना विद्यार्थीलाई सामुहिक बलात्कार गरेको घटनाका विरुद्धमा यो भन्दा ठूलो प्रदर्शन भएको समाचारमा जनाइएको छ ।
रासस/एएफपी

Logo