भीम रावल र बालेन साहबीच सामाजिक सञ्जालमा जुहारी

भीम रावल र बालेन साहबीच सामाजिक सञ्जालमा जुहारी


नेकपा एमालेका नेता भीम रावल र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सामाजिक सञ्जालबाट जुहारीमा उत्रिएका छन्। नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीचको भेटवार्तालाई लिएर नेता रावल र मेयर साहबीच सामाजिक सञ्जालमा जुहारी चलेको हो। 

बिहीबार ट्वीटरमामार्फत रावलले राजदूत भेट्नका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? भनेर प्रश्न गरेपछि मेयर साहले जवाफ फर्काएका थिए। उनले रावललाई जवाफ दिँदै ‘तपाईंहरूलाई जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’ भन्दै जवाफ फर्काएपछि रावलले जवाफी फायर खोलेका छन्।

रावलले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको भए स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयो?भन्दै फेरि अर्को प्रश्न तेर्साएका छन्। रावलले स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्न पनि चुनौती दिएका छन्। 

‘नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि? म फेरि पनि बालेनजीलाई प्रश्न गर्छु, के तपाईंले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नुभएको हो? तपाईले भन्नु भएझैं ‘उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट  स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयो? परराष्ट्र मन्त्रालयको पत्रबाट? फोनबाट वा इमेलबाट? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस्,’ उनले भनेका छन्। 

रावलले आवेस, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसँग मेल नखाने भन्दै महानगरले पेस गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने बताएका छन्।

रावलले भनेका छन्,‘तपाईंले असान्दर्भिक नै भए पनि जवाफमा ‘विदेशी सहयोग माग्ने कुनै रहर छैन’ भन्नुभएको कुरालाई जनताले सम्झने नै छन् तथा तपाईंले पेस गर्ने वार्षिक पेस गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ। बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ।’

मेयर साहले राजदूतले पटक–पटक भेट्न खोज्दा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन भनेको र परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र भेटेको स्पष्ट पारेका थिए। 

परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था रहेको भन्दै रावलले संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्न पनि आग्रह गरेका छन्। 

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ। कामपाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्,’ रावलले लेखेका छन्, ‘संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं।’

Logo