काठमाडौंलाई सुरक्षित बनाउन पूर्ण रुपमा प्रवेश नाका शील गरौँ–मेयर शाक्य

काठमाडौंलाई सुरक्षित बनाउन पूर्ण रुपमा प्रवेश नाका शील गरौँ–मेयर शाक्य


केही व्यक्तिलाई प्रवेश गर्न दिँदा काठमाडाैं शान्त पोखरीमा ढुंगा हाने जस्तो भयाे, मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् । उपत्यकामा समुदायस्तरमा संक्रमण अझै पनि कम देखिएकाले यसलाई नियन्त्रण गर्न उपत्यका प्रवेश गर्ने नाकामा शील गर्नुपर्ने मेयर शक्यले बताए । मेयर शाक्यले काठमाडौंमा समुदायमाभन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा शील गर्नुपर्ने बताएका हुन् ।

उनले अहिले नै शील नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने दाबी समेत गरेका छन् । उनले भने–‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन्छ । त्यसैले हामीले उपत्यका शील गर्दै उपत्यकाभित्र रहेका ४० लाख व्यक्तिलाई खुकुलो बनाउन भनेका थियौँ । तर केही व्यक्तिलाई प्रवेश गर्न दिँदा शान्त पोखरीमा ढुंगा हाने जस्तो भएको छ ।’

सरकाले लकडाउन खोले पनि लामो दूरीका सवारी साधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने उनको सुझाव छ । एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन मेयर शाक्यले आग्रह समेत गरे । उपत्यकामा समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नु पर्नेमा शाक्यको जोड छ ।

उनले भने–‘सरकारले लकडाउन खोलेको छ । तर अहिले पनि लामो दूरीका सवारी साधन चलाउन अनुमति दिएको छैन् । सवारी चलाउन नदिनु भनेको अहिले पनि लकडाउन नै छ भन्ने हो । त्यसैले आवतजावतमा रोक लगाएर समुदाय स्तरमा संक्रमण फैलिनबाट बचाउन सकिन्छ ।’

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले वेवास्ता गर्दा संक्रमणको अहिलेको स्थिति देखा परेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, विहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दबाब दिने नाममा हुने जुुलुसका कारण जोखिम बढेको उनको भनाइ छ ।

उनले संक्रमणको जोखिम उच्च रहेकाले तत्कालका लागि सरकारको समर्थन र विरोध गर्ने काम नगर्न समेत आग्रह गरेका छन् । ‘कोरोनाको जोखिम उच्च भएकाले मठमन्दिर, धर्मशाला, विहारहरु बन्द गरेका छौँ’–उनले भने–‘अब विभिन्न ठाउँमा हुने नारा जुलुस, अनसन बस्ने, सरकारको समर्थन वा विरोधमा हुने कुनै पनि गतिवधि रोक्नुपर्छ ।’

त्यस्तै उनले सरकाले पीसीआर परीक्षण गर्नेभन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिए । पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने तर संक्रमणको रोकथामका लागि प्रतिकारात्मक कदम चाल्नुपर्ने उनको भनाइ छ । उनले पीसीआर बढाउने भन्दापनि संक्रमण फैलन नदिनका लागि काम गर्नुपर्ने बताए । उनले भने–‘पीसीआर औषधि होइन । पीसीआर भनेको परीक्षण मात्रै हो । हामीले रोग लागेपछि उपचार गर्नुपर्छ भन्दा पनि रोग नै लाग्न नदिनको लागि अगाडि बढ्नुपर्छ ।’

अहिले सरकारले काम नै गर्न सकेन भन्ने आरोप लगाउने भन्दापनि सरकारले बनाएका मापदण्ड र नियमहरुलाई पालन गर्न उनको आग्रह छ । मापदण्ड र नियमलाई पालना नगरे आगामी दिनमा भयावह स्थिति भएर संक्रमण नियन्त्रण बाहिर जान सक्ने शाक्यको चेतावनी छ । उनले भने–‘सरकारले केही गरेन भन्दा पनि आफ्नो दायित्वलाई ख्याल गर्नुपर्छ । अन्यथा जिम्मेवारी आफूले पालना नगर्ने अरुलाई मात्रै दोष लगाएर बस्ने हो भने यसको समाधान हुँदैन । भोलि संक्रमणको अवस्था भयावह भएर नियन्त्रण बाहिर जान पनि सक्छ ।’

नाकामा लुकिछिपि आउने र ल्याउन सहयोग गर्ने सबैलाई कारवाही गर्नुपर्ने उनले बताए । शाक्यले मानिसहरुलाई सहजै आउन दिने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा सम्भव नभएको तर्क समेत गरे । ‘नाकामा आएकालाई छोडने होइन । नाकासम्म ल्याउने, लुकिछिपि आउने र लुकिछिपि ल्याउन सहयोग गर्नेलाई कारवाही गर्नुपर्छ’–उनले भने–‘नाकामा ल्याएर छोड्ने अनि यहाँ ल्याएर क्वारेन्टाइनमा राख्नुप¥यो भन्यो कति मान्छेलाई राख्ने ?’

त्यस्तैगरी संक्रमण देखिएका ठाउँलाई मात्रै शील गर्ने कुरा पनि संक्रमण रोकथामको उपयुक्त उपाय नभएको शाक्यको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङका लागि सहज बनाउन मात्र शील गर्ने भएकाले यो क्षणिक हुने उनको तर्क छ । संक्रमणलाई नियन्त्रणमा लिनको लागि नाकामा नै शील गरेर आवतजावत बन्द गर्नुको विकल्प नरहेको उनले दाबी समेत गरे । ‘शील गर्नु क्षणिक मात्रै हो । कन्ट्याक ट्रेसिङको लागि मात्रै हो’–उनले भने–‘त्यसकारण बन्द गर्ने हो भने विभिन्न जिल्लाबाट आउने नाकामा नै बन्द गर्नुपर्छ । सबैलाई ल्याउने घुलमिल गर्दै जाने हो भने परीक्षण गनै सम्भव नै छैन ।’

काठमाडौं उपत्यकाका जनप्रतिनिधिले गरेका निर्णयहरु जिल्ला प्रशासन, प्रदेश सरकार, संघीय सरकार सबैले कार्यान्वयन गरे संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने शाक्यको भनाइ छ

Logo