यस कारण हामी अझै शंकाको घेरामै छौं- डा. शेरबहादुर पुन (सरुवारोग विशेषज्ञ)

यस कारण हामी अझै शंकाको घेरामै छौं- डा. शेरबहादुर पुन (सरुवारोग विशेषज्ञ)


काठमाडौ‍ं । हाल विश्वभर त्रासदीपूर्ण महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा पनि त्यतिकै प्रचारमा रहेको छ । हालसम्म विश्वका ६० वटा देशहरुमा यसको प्रकोप फैलिसकेको छ भने यस भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजारभन्दा माथि पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिमका मुलुकहरुमा नेपाललाई पनि राखेको छ । यिनै विषयहरुलाई समेटेर शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनसँग केन्द्रबिन्दुकी संवाददाता सृजना राईले ५ प्रश्न गरेकी छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिममा रहेका मुलुकहरुमा नेपाललाई पनि राखेको छ, यसलाई कसरी लिनु भएको छ?

विश्व स्वास्थ्य संगठनको आफ्नै मूल्यांकन हुन्छ । उनीहरुको मूल्यांकन औपचारिक रुपमा जान्छ । विश्व स्वास्थ्य संगठनले आफ्नो सदस्य राष्ट्रहरुलाई सचेत हुनुपर्छ भन्ने हो । उनीहरुले यो मूल्यांकन गरेको ठिकै हो । अब नेपालमा चीनबाट मात्र नभई अरु विभिन्न देशहरुबाट पनि यो भाइरस आउन सक्ने सम्भावना देखिएको छ । त्यस सम्भावनालाई नै मध्यनजर गर्दै यो मूल्यांकन गरेको हुनसक्छ । विश्व स्वास्थ्य संगठनले जुन खालको सल्लाह दिएको छ, त्यसलाई हामीले पनि मान्नु पर्छ ।

नेपालमा हालसम्म कति जना कोरोना भाइरस संक्रमित भेटिएका छन्?

नेपालमा औपचारिक रुपमा एक जना मात्रै हो । त्यसपछिका जति पनि शंकाका बिरामीहरु आइरहेका छन् । ती सबैको नेगेटिभ रिजल्ट नै आएको छ । तर नेगेटिभ रिजल्ट आए भन्दैमा ढुक्क बस्ने अवस्था भने छैन । यो भाइरस फैलिएको दुई महिना बितिसक्दा पनि कम नभई जसरी लगातार बढिरहेको छ, यस कारण हामी अझै शंकाको घेरामै छौं ।

नेपालमा यदि यो प्रकोप फैलिहालेमा उपचारको व्यवस्था के कस्तो छ ?

यो अलिकति नीतिगत तरिकामा जान्छ । मन्त्रालयबाट हामीलाई जसरी सूचना आएको हुन्छ, हामीले त्यसै तरिकामा उपचार गर्ने हो । अहिले हजुरहरुले पनि देखिरहनु भएको छ , खुला रुपमै त्यसरी नै प्रक्रिया अगाडी बढ्नेछ ।

प्रकोप रोकथामका लागि आवश्यक पूर्वतयारी के के गर्न सकिन्छ ?

त्यसको लागि सबै ठाउँहरुमा जनचेतनामूलक प्रचार प्रसारहरु हुनुपर्छ । संक्रमण सम्भावित क्षेत्रहरुमा हेल्पडेस्कहरु त राखिएको छ तर ती पर्याप्त छैनन् । संक्रमित देशबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा राख्ने गर्नुपर्छ । नेपालमा उनीहरुको खुलेआम आइरहेका छन्, यसले रोगको प्रकोप बढ्न सक्छ । सरकारले गर्ने भन्दा बाहेक हामी आफैंले पनि सचेतना अपनाउन जरुरी छ ।

कोरोना भाइरसबाट बच्ने उपायहरु के के हुन् ?

खोक्दा मुख छोप्नु पर्‌यो । हात राम्रोसँग धुनुपर्‌यो । जनावरको सकेसम्म नजिक नजाने, मासुहरु राम्रोसँग पकाएर खाने , हात मिलाउनु भन्दा नमस्ते गर्ने बानी बसाल्ने गर्नु राम्रो हुन्छ । हालसम्म विश्व स्वास्थ्य संगठनले दिएको सल्लाह पनि यहि हो ।

Logo