बिस्का जात्रा नरोक्न माग गर्दै भक्तपुरमा प्रदर्शन, जात्रा गर्न नदिए राम्रो नहुने चेतावनी

बिस्का जात्रा नरोक्न माग गर्दै भक्तपुरमा प्रदर्शन, जात्रा गर्न नदिए राम्रो नहुने चेतावनी


भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णयको विरोधमा सोमबार भक्तपुरको टौमढी क्षेत्रमा स्वस्फुर्त सयौं नागरिकले प्रदर्शन गरेका छन्। उनीहरुले कोभिड १९ को बहानामा नेपालभाषी समुदायको जात्रा, पर्वमात्रै रोक्न नपाइने भन्दै आक्रोश पोखेका छन्।

बिस्का जात्राको लागि तयार गरिएको भैरवनाथ तथा भद्रकालीको रथलाई साक्षी राखेर उनीहरुले प्रहरी प्रशासनले जात्रा गर्न नदिए राम्रो नहुने चेतावनीसमेत दिएका छन्। प्रदर्शनका सहभागीहरुले भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र जिब्रो छेड्ने जात्रा हुनैपर्ने माग गरेका छन्। उनीहरुले बिस्का जात्रा गर्नैपर्ने मागलगायतका प्लेकार्ड बोकेका थिए। 

त्यस्तै सभा, जुलुस र रंगशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने भन्ने प्रश्न उठाएका छन्। कोरोनाको नाउँमा जात्रा पर्व रोक्नेहरुलाई खबरदारी गर्दै उनीहरुले जात्रा गर्ने निर्णय नगरिएसम्म शान्तिपूर्ण प्रदर्शनलाई जारी राख्ने बताएका छन्। 

प्रदर्शनमा सहभागी रमेश श्रेष्ठले के कसरी शान्तिपूर्ण र व्यवस्थित जात्रा सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ कुनै छलफल र विचार विमर्श नगरी सीधै जात्रा रोक्ने प्रशासन र नगरपालिकाको निर्णय मान्न नसकिने बताए।

भक्तपुरमै हजारौं सहभागी भएको व्यापार मेला निर्वाध चल्ने तर आफ्नै जात्रापर्व र परम्परा रोक्ने सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरुको नियत सही नभएको उनको भनाइ थियो। भक्तपुर नपा ७ स्थित माहेश्वरी खेल मैदानमा एकसातादेखि व्यापार मेला सञ्चालन भइरहेको छ।‘राजनीतिक दलका विभिन्न सभा सम्मेलनसमेत निर्वाध चलिरहेको छ’, अर्का सन्तोष सुवालले भने, ‘तर बिस्का जात्रा मात्रै किन रोक्नुपर्ने? यसलाई सुरक्षित सञ्चालन गर्ने उपाय छैन?’

उनले विकल्प छँदाछँदै जात्रालाई निषेध गर्दा परिणाम राम्रो नआउने चेतावनी दिए।अन्नपूर्णबाट

Logo