घरैमा बसेर तीज मनाउन उपराष्ट्रपतिको आग्रह

घरैमा बसेर तीज मनाउन उपराष्ट्रपतिको आग्रह


काठमाडौं ।

उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वव्यापी महामारी कोरोना भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उनले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आपिल गरेका हुन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल गर्दै उपराष्ट्रपतिले कोरोनाको संक्रमणबाट जोगिन नागरिक आफैं पनि सचेत र जिम्मेवार हुन आवश्यक रहेको बताए ।

सबै नेपाली एकजुट भएर धैर्यतापूर्वक कोराना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्नुको विकल्प नभएको उल्लेख गर्दै उनले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनैतहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बनाउन जोड दिएका छन् ।

कोरोना सङ्क्रमणबीच थुप्रै सांस्कृतिक तथा धार्मिक चाडपर्व आएका र यसबाट परिस्थिति अनुसार चाडपर्व मनाउनु पर्दछ भन्ने पाठ पनि सिकेको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने र आगामी वर्षमा तीज लगायतका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु पुनः उल्लासमय वातावरणमा मनाइने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्दै उनले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।रासस

Logo