‘अब नियमितरुपमा पूर्ववतरुपमै सवारी चेकजाँच’ : ट्राफिक प्रहरी प्रमुख ढकाल

‘अब नियमितरुपमा पूर्ववतरुपमै सवारी चेकजाँच’ : ट्राफिक प्रहरी प्रमुख ढकाल


काठमाडौं ।

मंगलबार रातिबाट लकडाउन खुला भएसँगै राजधानीका सडकहरुमा सवारी चाप बढेको छ । १ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो ।

सरकारले लकडाउन खुला गरेसँगै छोटो दुरीका सबै सवारी साधन सञ्चालनमा रहेका छन् । बुधबारबाट जोरविजोर प्रणाली समेत हटेको छ । सवारी चाप बढेसँगै लकडाउन अघिकै अवस्थामा चेकजाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्यकाका ठाउँठाउँमा चेकजाँच सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए । दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सहज बनाउने हिसाबले पूर्ण रुपमा ट्राफिक नियम पालना अभियान सुरु गरिएको उनले बताए । संक्रमणको जोखिमकाबीच सार्वजनिक सवारी समेत सञ्चालना आएको अवस्थामा सामाजिक दुरी कायम भए/नभएको, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएको/नअपनाएको पनि चेकजाँच भइरहेको उनले बताए । ड्युटीमा खटिएका ट्राफिक प्रहरी समेत सामाजिक दुरी कायम गरेर काम गरिरहेको उनले बताए ।

प्रमुख ढकालले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन पनि आग्रह गरेका छन् । ट्राफिक नियम उल्लंघन गरी मापसे सेवन गरी सवारी सञ्चालन गरेको पाइए कडा कारवाही गरिने उनले बताए । मापसे सेवन गरेको आशंका लागेमा स्वास्थ्य संस्थामा लगेर मेडिकल परीक्षण गरी कानून अनुसार कारवाही गरिने उनले बताए ।

Logo