पूर्वाधार विकास नगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुको औचित्य छैन–विज्ञ

पूर्वाधार विकास नगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुको औचित्य छैन–विज्ञ


काठमाडौं । पूर्वाधारको विकास नगरी आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

आयुर्वेद अस्पताल, फार्मेसी लगायतको विकास र विस्तार नगरी विश्वविद्यालय खोल्नुको औचित्य नहुने उनीहरुको भनाइ छ । पछिल्लो समय आयुर्वेद शिक्षामा आकर्षण कम हुँदै जानुको मुख्य कारण पर्याप्त आयुर्वेद हस्पिटल र रिसर्च संस्थाहरु नहुनु रहेकाले सबैभन्दा पहिला पूर्वाधार विकासमा ध्यान दिनुपर्ने विज्ञको सुझाव छ । आयुर्वेद विभागका महानिर्देशक बासुदेव उपाध्यायले नेपालमा अहिलेसम्म ३ सय ८२ वटा आयुर्वेद स्वास्थ्य संस्था रहेको तर अझैपनि १ सय आयुर्वेद विशेषज्ञ चिकित्सकहरु नरहेको बताए । उनले देशभित्र पर्याप्त आयुर्वेद अस्पताल नभएसम्म विश्वविद्यालय खोलेर मात्र आयुर्वेद शिक्षालाई अगाडि बढाउन नसकिने दाबी समेत गरे । नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद कलेज सञ्चालन गरेको तर त्यति प्रभावकारी हुन नसकेको उनको भनाइ छ । कलेज खोल्ने तर ओपीडी बाहेकको सेवा दिन सक्ने अस्पताल सञ्चालन नगरिने भएकाले योगमाया आयुर्वेद विश्वविद्यायल सञ्चालनका लागि पनि चुनौति रहेको उपाध्यायले बताए ।

त्यस्तै आयुर्वेद शिक्षण अस्पतालका निर्देशक डा. राजकिशोर साहले पनि आयुर्वेद विश्वविद्यायल सञ्चालन गर्नका लागि सबैभन्दा पहिले आयुर्वेद अस्पताल, आयुर्वेद फार्मेसी, औषधि उत्पादन कम्पनी लगायतका पूर्वाधारको आवस्यकता पर्ने बताए । विश्वविद्यालय खोल्न अनिवार्य भएपनि सरकारले पूर्वाधारको तयारी नगरी खोल्न नहुने बताए । उनले अहिलेसम्म आयुर्वेद नर्सिङको क्षेत्रमा पनि कुनै काम हुन नसकेको बताए ।

त्यस्तैगरी नरदेवी अस्पतालका निर्देशक डा. प्रदीप के.सी.ले आयुर्वेदबाट पनि उपचार हुन्छ र ? भन्ने दृष्टिकोण परिवर्तन गर्नका लागि पनि विश्वविद्यालय खोल्नुपर्ने धारणा राखे । उनले आयुर्वेद चिकित्सा शिक्षाप्रति अहिले भइरहेको दृष्टिकोण परिवर्तन गर्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने हो भने आयुर्वेद क्षेत्र धेरै माथि पुग्ने बताए ।

समितिको छलफलमा सांसदहरुले प्राचीन दर्शनमा आधारीत आयुर्वेद क्षेत्रको विकास र विस्तारका लागि विश्वविद्यालय आवस्यक रहेको बताएका छन् । सरकारले पनि प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यवहारिक तथा व्यवसायिक बनाउने उद्देश्यका साथ योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने गरी विधेयक ल्याएको हो । विधेयकले आयुर्वेदिक चिकित्सामा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय आवस्यक रहेको उल्लेख गरेको छ ।

विश्वविद्यालयले आयुर्वेद विषयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयमा आवश्यकताअनुसार आयुर्वेद, आयुर्वेद नर्सिङ, जडिवुटि, योग शिक्षा, प्रकृतिक चिकित्सा लगायतका स्कुल कलेजहरु सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ । साथै आयुर्वेद अनुसन्धान केन्द्र, आयुर्वेद शिक्षण अस्पताल लागयत पनि सञ्चालन गर्न सकिने विधेयकमा उल्लेख गरिएको छ ।

Logo