‘अर्थतन्त्रको ऐना पूँजी बजारलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्छ’ : राधा पोखरेल (अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ)

‘अर्थतन्त्रको ऐना पूँजी बजारलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनु पर्छ’ : राधा पोखरेल (अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ)


काठमाडौं ।

पछिल्ला दिनहरूमा नेपालमा पूँजीबजारमा उतार चढाव छ । कुनै दिन ह्वात्तै बढेको बजार भोलि पल्टै त्यही अनुपातले घट्ने गरेको अवस्थाले यसमा लगानी गर्नेहरूबीच अन्योल छ । कतै पूँजीबजारमा गरिएको लगानी असुरक्षित त छैन भन्ने त्रास एकातिर छ भने पूँजीबजारमै लगानी गर्ने प्रतिष्पर्धा पनि घटेको छैन । यस्तो अवस्था किन हुन्छ त, हामीले यसपटक नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीद्वारा पोखरेलसँग गरिएको कुराकानी :

१. पूँजीबजारमा दैनिक रुपमा हुने उतार चढावको कारण के हो ?
पूँजीबजार देशको अर्थतन्त्रको ऐना नै हो । देशको अवस्था कस्तो छ, सरकारका कदमहरू के कस्ता छन् , जस्ता कारणले बजार घटबढ हुने गरेको हो । पूँजीबजार घटबढलाई सामान्य नै मानिए पनि एकैचोटी धेरै घट्नु वा एकैचोटी धेरै बढ्ने अवस्था आउनु भनेको देशको राजनीतिक अवस्थाले पनि हुने गर्छ । यसलाई ठ्याक्कै यही कारणले नै प्रभाव पार्छ भन्न गाह्रै हुन्छ ।

२.कुनै बेला पूँजीबजार मापक नेप्से १८८१ बिन्दुसम्म पुगेको थियो, अहिले १३ सय बिन्दुको हाराहारीमा छ, यो भनेको लगानीकर्ताहरूले घाटा खाएको अवस्था हो नि, सुधार गर्न के गर्नु पर्छ ?

पहिलो कुरा सरकारले यसतर्फ ध्यान दिनु पर्छ । हामीले देशमा स्थिर सरकार आएपछि पूँजीबजारका समस्या हट्दै जाने अपेक्षा गरेका थियौं । तर पनि बजार घटिरह्यो । घट्नुका कारण सरकारका पूँजीबजारतर्फका नीति र कार्यक्रमहरू नै हुन् । पछिल्लो एक महिनादेखि केही सुधार त हुन थालेको छ । अहिले अर्थमन्त्रीले लगानीकर्ताहरूका समस्या के के छन् भनेर बुझ्न एउटा समिति बनाउनु भएको छ । समितिले काम पनि गर्दैछ । हामीले समस्याका ५८ वटा बूँदाहरू सरकारलाई दिएका छौं । विस्तारै सुधार हुन्छ भन्ने अपेक्षा छ ।

३.तपाईंले पूँजीबजार लगानीकर्ता संघको नेतृत्व गरेपछि बजारलाई सुधार गर्न के कस्ता कामहरू गरिरहनु भएको छ ?

मैले नेतृत्व लिएको २ वर्ष हुन लाग्यो । त्यतिबेला बजार एकदमै घट्दो क्रममा थियो । लगानीकर्ताहरूमा त्रास पनि थियो, कतै लगानी डुब्ने त होइन भन्ने आशंका पनि उस्तै थियो । अहिले बजारको अवस्था सुधारोन्मुख छ । यसको कारण मैले नेतृत्व लिएपछि बजार उकालो लागेको भन्ने होइन, समस्याहरू पहिल्याएर समाधानका लागि हामीले अर्थमन्त्रीदेखि अन्य नियामक निकायसम्म पहल गरिरहेका छौं । देशका ७ वटै प्रदेशमा हामीले संघहरू बनाएर सम्बन्धित ठाउँका समस्याहरू संकलन गर्दै समाधानका कार्यक्रम पनि अघि सारेका छौं । सानोभन्दा सानो लगानी जोड्दै कसरी बजारलाई व्यवस्थित र भरपर्दो बनाउने भन्ने मै हामी केन्द्रित भएका छौं ।

४.बजारको अवस्था हेरेर लगानीकर्ताहरूमा निराशा बढेको छ , उनीहरूलाई के सल्लाह दिनु हुन्छ ?

बजारको अवस्था हेरेर लगानी गर्नुहोला, अरूको लहलहैमा लागेर होइन आफ्नो आर्थिक अवस्था अनुसारको लगानी गर्नु होला । बजार उकालो लागेको स्थितिमा लगानी गर्नु हुँदैन । लगानी नै गरेपनि आफ्नो आर्थिक हैसियत भन्दा धेरै माथि गएर होइन, आफूसँग भएको सानो पूँजीबाट लगानी गर्नुपर्छ । बजार घट्ने बित्तिकै डराउने र बढ्ने बित्तिकै के के नै भयो जस्तो गरेर ऋण खोजेर लगानी गर्नु राम्रो होइन । सबैकुरा बुझेर आउनुस् , यसमा गरेको लगानी केही समयका लागि घटेपनि त्यो दीर्घकालिन घट्ने भन्ने होइन । पूँजीबजारको नियम नै यस्तै हो ।

५.पूँजीबजारमा महिला लगानीकर्ताहरूको उपस्थिति कस्तो छ नि ?
मलाई त लाग्छ, पूँजीबजार खासमा गृहिणी महिलाहरूले नै गर्ने हो । यहाँ अरू अफिस जस्तो ८–१० घण्टाको समय दिनु पर्ने भन्ने हुँदैन । बिहान ११ बजे बजार खुल्छ, ३ बजेसम्म बजार पनि सकिन्छ । घरको काम सकेर थोरै समय दिए पनि पूँजीबजारमा काम गर्न सकिने अवस्था महिलाहरूका लागि निकै उपयोगी हुन्छ । पछिल्ला दिनहरूमा महिलाहरूले यो कुरा बुझेर लगानी बढाउँदै गरेका छन् । यो सकारात्मक पनि छ ।

Logo