अरुण तेस्रोले वातावरण संरक्षणका लागि दुई अर्ब २१ करोड दिने

अरुण तेस्रोले वातावरण संरक्षणका लागि दुई अर्ब २१ करोड दिने


काठमाडौं ।

सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले वातावरण संरक्षणका लागि दुई अर्ब २१ करोड दिने भएको छ ।

आयोजनाका विभिन्न संरचना निमार्ण गर्दा उत्पन्न हुने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न दुई अर्ब २१ करोड छुट्याइएको भारतीय निमार्ण कम्पनी निगम (एसजेभिएन) ले जनाएको छ ।

आयोजनाले पहिलो चरणमा धूलो नियन्त्रण, पहिरो नियन्त्रण, सडकमा ग्राभेल र दोस्रो चरणमा कालोपत्रे गर्न विभिन्न सुरक्षालाई मध्यनजर गर्दै कार्यक्रम ल्याइएको जनाएको छ । भारतीय निमार्ण कम्पनीले भौतिक संरचना बनाउँदा वर्खायाममा मानववस्ती, खतीयोग्य जमिन जोखिममा परेका छन् ।

निमार्णाधीन आयोजनाका लागि अहिले दैनिक १५ देखि २० वटासम्म ठूला मालबाहक सवारीसाधन सङ्खुवासभा भित्रिने गरेका छन् । कच्ची सडक भएकाले जिल्ला भित्रिने ठूला सवारीको धुलोले मानववस्तीलाई सास्ती दिने गरेको छ ।

आयोजनाले निमार्ण कार्य तीव्र गतिमा भइरहेको जनाएको छ । बाँध निमार्ण, ड्याम साइड र सडक क्षेत्रमा काम भइरहेको छ । विद्युत् निमार्ण कार्य सञ्चालनका क्रममा हुने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न दुई अर्ब २१ करोड बजेट विनियोजन गरेको सतलज कम्पनी एसजेभिएन तुम्लिङटारका सिइओ अरुण धिमानले जानकारी दिए । उनका अनुसार आयोजनाका क्रममा भएका र हुन सक्ने वातावरणीय प्रभावलाई रोक्ने प्रयास भइरहेको छ ।

आयोजनाको बाध निमार्ण र ड्याम साइड क्षेत्रमा गएको पहिरो रोकथाम गर्न नाली कटाउने, गाह्रो लगाउने काम भइरहेको बताइएको छ । अरुण तेस्रोको पावर हाउसअन्तर्गत छ्याङकुटी पुखुवा २८ किलोमिटर सडक खण्डमा स्थानीयको खेतीयोग्य जमिनमा लगाइएको सयौँ हेक्टरका अलैँची र धान खेत पहिरोले पुरेको भन्दै जिल्ला प्रशासन कार्यालय, चिचिला गाउँपालिका र सडक विभागमा निवेदन दिए पनि क्षतिपूर्ति नपाएको पीडितको गुनासो छ ।
रासस

Logo