टिचिङ अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण

टिचिङ अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वको चिकित्सक टोलीले शुक्रबार राती कलेजो प्रत्यारोपण गरेको हो  । डा. भण्डारीले फेसबुकमा यसबारे जानकारी दिएका छन्। रुपन्देहीका ५० वर्षीया एक व्यक्तिलाई उनका २७ वर्षे छोराको कलेजो प्रत्यारोपण गरिएको हो ।

यसअघि त्रिवि शिक्षण अस्पतालमै गएकाे जेठ १८ गते दाेस्राेपटक कलेजाेकाे प्रत्याराेपण भएकाे थियाे । एक ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको थियो ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले २ वर्षअघि नेपालमै पहिलाेपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।हाल भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चितवनको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज गरी ४ वटाले मात्र कलेजाे प्रत्याराेपणकाे अनुमति पाएका छन् ।

कलेजो प्रत्यारोपणमा करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ। परिवारभित्रका व्यक्तिले मात्र कलेजो दान गर्न सक्ने कानुनी प्रावधान छ। १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिने चिकित्सक बताउँछन्।

भारतमा कजेजो प्रत्यारोपण गर्दा ५० देखि ७० लाख खर्च लाग्ने गरेको छ ।

Logo