उखु किसान आज पनि हलो र उखु लिएर माइतीघर मण्डलामा

उखु किसान आज पनि हलो र उखु लिएर माइतीघर मण्डलामा


काठमाडौं ।

उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु बुधबार पनि सडकमा निस्किएका हुन् । उखु किसानहरु मंसिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा आएर संघर्ष गरिरहेका छन् । चिनी मिल सञ्चालकहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने उखु किसानहरुले बताएका छन् ।

मिल सञ्चालकहरुबाट किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सरकारले गत वर्ष नै किसानको उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालकबीच सम्झौता गराएको थियो । सरकारको रोहबरमा एक महिना भित्रमा भुक्तानी दिने सम्झौता भएपनि किसानहरुले एक वर्षसम्म पनि भुक्तानी पाउन सकेनन् । त्यसैले किसानहरु फेरि पनि काठमाडौं आएर संघर्ष गर्न बाध्य भएका हुन् ।

यसपटक सरकारले उखु किसानहरुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बताएको छ तर अहिलेसम्म कुनैपनि कारबाही गर्न सकेको छैन । किसानहरुले सरकारसँग पटकपटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् । किसानहरुले आफूहरुले पाउनु पर्ने रकमको भुक्तानी दिलाउने जिम्मेवारी सरकारले नलिदासम्म संघर्षलाई जारी राख्ने बताएका छन् ।

Logo