काठमाडौं
विवादास्पद न्यायाधीश सिफारिसको आधार माग्दै न्यायपरिषद्का सदस्य रामप्रसाद सिटौलासँग सर्वोच्च अदालत बार एशोसिएशनले स्पष्टीकरण माग्ने भएको छ । सर्वोच्च बारको सोमबार बसेको सल्लाहकार परिषद्को बैठकपछि नेपाल बारलाई न्याय परिषदमा प्रतिनिधित्व गर्ने सदस्य सिटौलासँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।
न्यायाधीश सिफारिसका आधारहरु स्पष्ट गर्न न्यायपरिषद्का सदस्य सिटौलासँग आग्रह गर्ने निर्णय गरिएको सर्वोच्च बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले पत्रकारहरुलाई बैठकपछि जानकारी गराएका छन् ।
चैत १९ गते बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चमा ५ र उच्च अदालतमा १८ न्यायाधीशका लागि नाम तय गरिएको थियो । केही ‘सडेगलेका’ व्यक्तिहरु पनि सिफारिसमा परेको भन्दै न्यायालयभित्रबाट समेत सिफारिसको चर्को आलोचना भइरहेको छ ।
सर्वोच्च बारले न्यायाधीश सिफारिसको विषयमा छलफल गर्न आफ्नो सल्लाहकार समितिको बैठक सोमबार डाकेको थियो । बैठकले अन्य कार्यक्रम तय गर्नुपूर्व नियुक्तीका आधारहरु स्पष्ट गर्न सुझाव दिएपछि आफूहरु सो निर्णयमा पुगेको अधिकारीले बताए ।
बैठकमा बरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चमा गरिएको सिफारिसविरुद्ध संसदीय सुनुवाई समितिमा आफूले ध्यानाकर्षण सहितको उजुरी दिने बताएका छन् ।
सोमबार बसेको बैठकले न्यायाधीश सिफारिसका आधारहरु प्रष्ट्याउन परिषद्का सदस्य रामप्रसाद सिटौलासँग लिखित स्पष्टीकरण लिएपछि अन्य विरोधका कार्यक्रम सार्वजनिक गरिने तय भएको बताइएको छ । सिटौला लोकतान्त्रिक कानुन व्यवसायीले चुनाव जितेपछि तीन बर्ष अघि देखि न्यायपरिषदमा बार एशोसिएशनको प्रतिनिधित्व गरिरहेका छन् ।
नागरिकबाट
प्रतिक्रिया