राजधानीमा २ महिनामै १२ सय अपराध–घटना

राजधानीमा २ महिनामै १२ सय अपराध–घटना


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० असोज ।

उपत्यकामा चालु आर्थिक वर्षको प्रथम दुई महिनामा ११ सयभन्दा बढी अपराध–घटना भएका छन् । चालु आर्थिक वर्ष २०७४÷०७५ को साउन र भदौ महिनाको अवधिमा १ हजार १ सय ८७ वटा अपराधका घटना भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको दुई महिनाकै अवधिमा २० वटा बलात्कार–घटनासहित महिला तथा बालबालिकासम्बन्धी ५२ वटा आपराधिक घटना भएका छन् । त्यसै गरी ९४ वटा भवितब्य ज्यान घटनासहित ज्यानसम्बन्धी १ सय २३ घटना भएका छन् ।

त्यसै गरी ६४ वटा झुण्डीएर आत्महत्याका घटनासहित आत्महत्याका ९२ वटा घटना भएका छन् । त्यसै गरी ६८ वटा साधारण चोरीसहित चोरी अपराधसम्बन्धी ७७ वटा घटना भएका छन् । त्यसै गरी ५२ लागुऔषधका घटनासहित १ सय ८ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका छन् ।

त्यसै गरी केही सार्वजानिक अपराधका ६ सय ५० वटा घटना भएका छन् । यस्तै, २५ सवारी ज्यानका घटनासहित सवारीसम्बन्धी ३३ वटा घटना भएका छन् । त्यसै गरी ३६ बैंकिङ घटनासहित विविध अपराधका ५२ वटा घटना भएका छन् ।

विभिन्न किसिमका अपराधका घटना साउनमा ५ सय ९ र भदौमा ६ सय ७८ गरी २ महिनाको अवधिमा उक्त घटना भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७३-०७४ मा विभिन्न किसिमका साउनमा ५ सय ३६, भदौैमा ५ सय ९६, असोजमा ४ सय ३१, कार्तिकमा ४ सय ८०, मंसिरमा ४ सय ५१, पुसमा ४ सय ५१, माघमा ४ सय ७०, फागुनमा ४ सय ८६, चैतमा ५ सय ५४, वैशाखमा ४ सय १७, जेठमा ५ सय २१ र असारमा ४ सय ९५ अपराध–घटना भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

अहिलेको अपराधको गतिविधि हर्ने हो भने उपत्यकाका ३ जिल्लामा २६ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले धेरै अपराध गरेको महानगरीय प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्ष २०७३-०७४ सालमा १६ वर्षदेखि ३५ वर्ष उमेर समूहका ५९ प्रतिशत अभियुक्त पक्राउ परेका छन् भने अन्य उमेर समूहका ४१ प्रतिशत अपराधमा संलग्न भएको तथ्यांकले देखाएको छ ।

एक वर्षको अवधिमा १६ वर्ष मुनिका १ सय २१, १६ वर्षदेखि २५ वर्षसम्म २ हजार १ सय ४७ जना, २६ देखि ३५ वर्षसम्म २ हजार ३ सय ३८ जना, ३६ देखि ४५ वर्षसम्म १ हजार ७ सय २५ जना, ४६ देखि ६० वर्षसम्मका १ सय ८७ जना र ६० वर्षभन्दा माथिका २ सय ७१ गरी ६ हजार ७ सय ८९ अभियुक्त गत आर्थिक वर्षमा पक्राउ परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

 

Logo