गुहेश्वरी मन्दिरमा पूजा गर्न पशुपति क्षेत्र विकास कोषलाई नै रोक

गुहेश्वरी मन्दिरमा पूजा गर्न पशुपति क्षेत्र विकास कोषलाई नै रोक


काठमाडौं ।

पशुपति क्षेत्र विकास कोष मातहत रहेको गुहेश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्न मन्दिर व्यवस्थापन समिति र पुजारीले रोक लगाएको कोषले जनाएको छ ।

कोषले प्रत्येक वर्ष घटस्थापनाका दिन गुहेश्वरी मन्दिरमा विशेष पूजा गर्ने परम्परा थियो । कोषका तर्फबाट शनिबार बिहान पूजा गर्न गएका पुजारी लगायत कर्मचारीलाई व्यवस्थापन समिति, पुजारीद्वय जैन कर्माचार्य र रामकृष्ण डङ्गोलले पूजा गर्न नदिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

गुहेश्वरी मन्दिर क्षेत्रमा रहेका सुनको परिमाणबारे व्यवस्थापन समितिलाई स्पष्टीकरण सोधिएकाले पूजा गर्न नदिइएको उनले आरोप लगाए। समितिले चित्त बुझ्दो उत्तर नदिएकाले थप छानबिन गर्ने तयारी गरिएको कोषले जनाएको छ । समितिले भने मन्दिरमा पञ्चामृत, अण्डा र जाँडरक्सी चढाउँदा सुन खिइएको जिकिर गर्दै यस सम्बन्धी स्पष्टीकरण कोषलाई बुझाइसकिएको जनाएको छ ।

गुहेश्वरीक्षेत्र र चाबहिलक्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । यसकारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने तयारी भएको बताउँछन्।रासस

Logo