कसरी बन्यो विराटनगर आर्थिक हब ?

कसरी बन्यो विराटनगर आर्थिक हब ?


नेपालमै पहिलो उद्योगको रूपमा विराटनगर जुट मिल १९९३ साल असार ३० गते तत्कालीन उद्योग परिषद्मा दर्ता भएको हो । झापा, मोरङ सुनसरी, सिराहा र सप्तरीमा अत्यधिक जुट उत्पादन हुन्थ्यो ।

भारतको कटिहारमा दुई वटा जुट मिल थिए । ती जुट मिलले विराटनगरमा गल्ला राखेर जुट खरिद गर्ने गरेका थिए । सो समयमा किसानले एक मन जुट बिक्री गरेको पैसाले एक तोला सुन र घरलाई चाहिने मर मसला, मिडाई समेत किनेर लग्ने गरेको,मोरङ व्यापार संघले २०३८ सालमा प्रकाशन गरेको स्मारिकाको “मोरङको व्यावसायिक इतिहास”मा मातृकाप्रसाद कोइरालाले उल्लेख गरेका छन् । बढी आम्दानी हुने भएकै कारण किसान जुट उत्पादनमा आकर्षित भएका थिए र यो क्षेत्रको प्रमुख बालीमा जुट पर्दथ्यो । 

विराटनगरको आसपासमा अत्यधिक जुट उत्पादन हुने र श्रमिक पनि सस्तोमा पाइने भएकाले भारतीय उद्योगी विराटनगरमा जुट उद्योग खोल्न चाहन्थे । कलकत्ताका सेठ राधाकृष्ण चमरियाको कटिहारमा जुट मिल भएको र उनको विराटनगरमा जुट मिल खोल्ने इच्छा भएको मोरङ व्यापार संघले २०३८ सालमा प्रकाशन गरेको स्मारिकाको“मोरङमा औद्योगिक शुरूआत : मेरो सम्झना” लेखमा जुद्धबहादुर श्रेष्ठले लेखेका छन् । 

विराटनगर बजारदेखि पाँच माइल टाढा भारतको जोगबनीमा रेल्वे स्टेसन भए पनि विराटनगरबाट जोगबनी जान राम्रो सडक थिएन । जुट मिलबाट रेल्वे स्टेसन पुग्न बर्सातमा छ/सात घण्टा लाग्ने गरेको जुद्धबहादुरले लेखेका छन् । जङ्गल भएका कारण जङ्गली जनावर र भुतको डरले रात साँझ मानिस हिँडडुल गर्न डराउने गरेको श्रेष्ठले उल्लेख गरेका छन् । बि. सं. १९९२ मा जुद्ध समशेर दौडाहामा आएको बेला उनको क्याम्प हरैँचामा थियो । कटिहारबाट आएका हरद्वारीमल झुनझुन वाला, मिस्टर चटर्जी सहित रामलाल गोल्छालाई कृष्णप्रसाद कोइरालाले प्रधानमन्त्री जुद्ध समशेरलाई भेट गराई विराटनगरमा उद्योगको ढोका उघार्ने काम गरेको सोही स्मारिकाको “मोरङको व्यावसायिक इतिहास”मा मातृकाप्रसाद कोइरालाले लेखेका छन् । 

सीमावर्ती बजार जोगबनीमा रेल सेवा भएको विराटनगरमा सस्तो श्रम पाइने भएका कारण कच्चा जुट भारत लानु भन्दा प्रशोधन गरेर लैजाँदा उत्पादन लागत र ढुवानी खर्च कम पर्ने भएका कारण प्रारम्भिक समयमा विराटनगरमा जुट उद्योग खुलेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका कार्यकारी निर्देशक राधारमण भण्डारीले जनाएका छन् । पछि विराटनगर सडक सञ्चालनमा जोडिएपछि नेपालको विभिन्न ठाउँबाट कच्चा पदार्थ ल्याउन र उत्पादित वस्तु पुर्‍याउन सहज भएपछि अन्य उद्योगहरू खोल्ने क्रम बढेको कार्यकारी निर्देशक भण्डारीको भनाई छ । नेपालमा भएका उद्योगले राम्रो मुनाफा गर्न थालेपछि विराटनगरमा धमाधम उद्योग खुल्न थालेको कार्यकारी निर्देशक भण्डारी बताउँछन् । बि. सं. २००० अघि नै मोरङ कटन मिल, मिल, गुह्येश्वरी राइस मिल, नेपाल केमिकल इण्डस्ट्रिज लगायत, जुद्ध म्याच फ्याक्ट्री, नेपाल प्लाइउड बोविन कम्पनी, हिमालय जुट प्रेस जस्ता उद्योग खुलिसकेको जुद्धबहादुरले सोही लेखमा लेखेका छन् । 

विराटनगरबाट करिब पाँच सय किलोमिटरको दुरीमा बन्दरगाह भएको र बन्दरगाहसँग भारतको जोगबनी रेलमार्गले जोडिएका कारण कच्चा पदार्थ ल्याउन र उत्पादित वस्तु निर्यात गर्न सहज हुनुका साथै नेपालको विभिन्न ठाउँबाट सहज रूपमा विराटनगर सामान ल्याउन सकिने र विराटनगरबाट पनि देशको जुनसुकै ठाउँमा पनि वस्तु पठाउन सहज भएका कारण विराटनगरमा उद्योग व्यवसाय फस्टाएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा बताउँछन् । 

दुई दशक अघिसम्म विराटनगरमा साना तथा ठूला गरी दुई सय भन्दा बढी उद्योग सञ्चालनमा थिए । भारतीय बजार जोगबनीसँगै जोडिएको रानी स्थित उद्योग भएको क्षेत्रलाई मिल्स एरिया भनेर चिनिन्थ्यो । जहाँ विराटनगर जुट मिल, मोरङ सुगर मिल, नेपाल केमिकल इण्डस्ट्रिज लगायत, जुद्ध म्याच फ्याक्ट्री, नेपाल प्लाइउड बोविन कम्पनी, हिमालय जुट प्रेस, अशोक टेक्सटायल, शाह उद्योग, गणपति कटन मिल जस्ता धेरैलाई प्रत्यक्ष रोजगारी दिएका एक सय भन्दा बढी उद्योग सञ्चालनमा थिए । 

बन्दरगाह सम्मको सहज पहुँच, नेपालको जुनसुकै ठाउँ पनि जान सकिने, सुदृढ शान्ति सुरक्षा र कामदारको पर्याप्तता लगायतका कारणले विराटनगर आर्थिक केन्द्रको रूपमा विकास भएको महासंघका केन्द्रीय सदस्य बोहरा बताउँछन् । 

नेपालकै पहिलो उद्योग जसले आठ हजार भन्दा बढीलाई रोजगारी दिएको विराटनगर जुट मिल सहित मोरङ सुगर मिल, नेपाल केमिकल इण्डस्ट्रिज लगायत, जुद्ध म्याच फ्याक्ट्री, नेपाल प्लाइउड बोविन कम्पनी, हिमालय जुट प्रेस, अशोक टेक्सटायल, शाह उद्योग, गणपति कटन मिल जस्ता धेरैलाई प्रत्यक्ष रोजगारी दिएका उद्योग अहिले बन्द भइसकेका छन् । 

पछिल्लो दुई दशकमा विराटनगर एक दर्जन टेक्सटायल, पाँच दर्जन प्लास्टिक, एक दर्जन खाद्यान्न, एक दर्जन गार्मेन्ट सहत करिब एक सय साना तथा ठूला उद्योग बन्द भएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिएका छन् । यसबाट २५ हजारले प्रत्यक्ष रोजगारी गुमाएको भण्डारीको तर्क छ । 

औद्योगिक नगरीको साख कायमै

देशकै पहिलो उद्योग विराटनगर जुट मिल सहित करिब एक सय उद्योग बन्द भए पनि आर्थिक नगरीको विराटनगरको साख कायमै छ । विराटनगरमा १३ हजार संख्यामा व्यवसाय दर्ता भएको विराटनगर महानगरपालिकाको अभिलेखमा उल्लेख छ । १३ हजार दर्ता भएका व्यवसाय मध्ये कति साना उद्योग, कति ठूला उद्योग, कति घरेलु उद्योग र कति पसल/व्यवसाय हुन भनेर महानगरले छुट्याएको छैन । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार विराटनगरमा साना ठूला गरी एक सय उद्योग सञ्चालनमा छन् । यी उद्योगमा १५ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । घरेलु र कुटिर उद्योगको संख्या दुई हजार भन्दा बढी हुनसक्ने व्यवसायीहरू बताउँछन् ।

विराटनगरमा सञ्चालनमा रहेका प्रमुख उद्योगहरूमा गार्मेन्ट, होजियारी, खाद्यान्न, प्लास्टिक, कार्टुन, ट्रान्सफर्मर, अटोमोबाइल्स, छाला तथा जुट मिल रहेका छन् । गार्मेन्ट र होजियारीका दुई दर्जन भन्दा बढी उद्योग सञ्चालनमा छन् । चामल र पिठोका डेढ दर्जन उद्योग सञ्चालनमा छन् भने तेलका दुई वटा उद्योग सञ्चालनमा छन् । 

२००३ सालमा स्थापना भएको पुरानो र ऐतिहासिक रघुपति जुट मिल विराटनगरमा सञ्चालनमै छ । यसले तीन हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । राणा शासन विरुद्धको क्रान्तिमा रघुपति जुट मिलको एउटा कोठाबाट नेपाली कांग्रेसले प्रजातन्त्र रेडियोको प्रसारण गरी प्रजातन्त्रको बिगुल फुकेको थियो । 

बन्द भएको विराटनगर जुट मिललाई औद्योगिक सङ्ग्राहलयमा विकास गर्न सके विराटनगरको महत्त्व र साख त बढ्छ नै ठूलो संख्यमा पर्यटक भित्र्याएर महानगरले राम्रो आय आर्जन गर्नुका साथै रोजगारी समेत सिर्जना गर्न सक्छ ।

Logo