पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित


एसिया कप २०२३ मा नेपालले हार व्यहोरेको छ । बुधबार भएको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको हो ।  

मुल्तान रङ्गशालामा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३ं.४ ओभरमै सबै विकेट गुमाएर १०४ रनमा समेटिएको हो । नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । यसअघि विश्वकप छनोटमा नेपाल वेस्टइन्डिजविरुद्ध १०१ रनले पराजित भएको थियो ।

नेपालका लागि सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन जोडे । चौथो विकेटका लागि आरिफ र सोमपालले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । 

न त्यसअघि नेपालका कुनै खेलाडीले राम्रो प्रदर्शन गरे न त पछाडी नै । नेपालका लागि पहिलो ओभरमै ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएका थिए । पहिलो ओभरको शाहिन शाह अफ्रिदीको पहिलो र दोस्रो बलमा लगातार चौका प्रहार गरेका भुर्तेल पाँचौ बलमा क्याच आउट भए । त्यसपछि आएका कप्तान पौडेल पहिलो बलमै शून्य रनमा आउट भए ।

गुल्सान झाले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

बलिङमा पाकिस्तानका शादब खानले ४ विकेट लिए भने शाहिन शाह अफ्रिदी र हरिस रौफले २/२ विकेट तथा नसिम शाह र मोहम्मद नवाजले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पाकिस्तानले पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले १५१ रनको शतकीय इनिङ खेले । १३१ बलको सामना गरेका उनले १० वटा चौका र ४ छक्का प्रहार गरे । उनलाई सोमपाल कामीले आउट गराएका हुन् । 

त्यस्तै, इफ्तिकर अहमदले पनि उत्कृष्ट शतकीय इनिङ खेले । उनले बलमा चौका र ३ छक्कासहित रन जोडे । २७ ओभरमा ४ विकेट गुमाउँदै १२४ रनमा रोकिएको पाकिस्तानका लागि बाबर र इफ्तिकरको जोडी जम्न सफल भयो । नेपालका बलरको कमजोरी नियाल्दै उनीहरुले भरपूर फइदा उठाउन सफल भए । 

त्यसअघि पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भएको थियो । नेपालका लागि पहिलो विकेट करण केसीले लिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिएका थिए । त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो । जमानले २० बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । 

पाकिस्तानले लगत्तै इमाम उल हकका रूपमा दोस्रो विकेट गुमाएको थियो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान रोहितकुमार पौडेलले रनआउट गरे । हकले १४ बल खेल्दै एक चौका हिर्काएर मात्र पाँच रन बनाए । 

त्यसपछि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन बनाए । उनलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमायो । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका थिए । 

बलिङमा सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र करण केसीले एकएक विकेट लिए । 

 समूह ए मा रहेको नेपालले अब भदौ १८ मा भारतसँग खेल्नेछ ।

Logo