आफ्नै घरमा सुतेका दम्पती घरबाटै बेपत्ता : छानबिन गर्न माग गर्दै सडक अवरुद्ध

आफ्नै घरमा सुतेका दम्पती घरबाटै बेपत्ता : छानबिन गर्न माग गर्दै सडक अवरुद्ध


जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा–५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् । 

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नु पर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका–५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार दुवै छुट्टाछुट्टै कोठामा सुतेका थिए । आज बिहानदेखि दुवै घरमा भेटिएका छैनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखा परेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको हुन सक्ने झाका नाति सुजितकुमार झाले दाबी गरेका छन् । सुजितले घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको बताए । दुवै सुतेको ठाउँमा रगत भेटिएकाले घटना शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । प्रहरी उपरीक्षक केसीले भने, “दुवैको खोजी भइरहेको छ ।” बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । “घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीव्ररुपमा भइरहेको र घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । झा मोही सम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति रहेको स्थानीयको भनाइ छ । उक्त मुद्दा अदालतमा विचाराधीन छ । 
 
२५ लाखसहित हुण्डी कारोवारी पक्राउ

यहाँ दुई हुण्डी कारोवारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

निरीक्षक रानाभाटले जनकपुरबाट हुण्डी रकम रु २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा जटहीबाट पक्राउ गरेको बताए । पक्राउ परेको रकमसहित दुवैलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए।  हुण्डी कारोवारमा अन्य संलग्नको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।रासस

Logo