बिरामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते

बिरामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते


म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारको लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारको लागि पोखरा सिफारिस गरिएको छ । 

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।

Logo