स्काउट नेपालको एक हप्ते विपत व्यवस्थापन तालिम

स्काउट नेपालको एक हप्ते विपत व्यवस्थापन तालिम


नुवाकोटको ककनीस्थित नेपाल स्काउटको क्याम्पमा एक हप्ताको विपत व्यवस्थापन तालिम सञ्चालन भइरहेको छ । नेपाल सरकार र नेपाल स्काउटको संयुक्त पहलमा तालिम सञ्चालन भइरहेको हो । 

नेपाल स्काउटद्वारा आयोजना गरिएको यस तालिममा जम्मा सहभागि संख्या ६३ रहेको छ । जसमा सातै वटै प्रदेशबाट १०–१० जना स्काउट नेपालका सदस्यहरुलाई उपस्थित गराइएको छ । यस बाहेक सातै प्रदेशका स्काउट लिडरहरु, रोवरेन्जरीहरुको समेत सहभागिता रहेको छ । 

तालिममा आगलागी, बाढीपहिरो, भूकम्प, महामारी जस्ता विपतको वास्तविक प्रदर्शनसहितको तालिम भइरहेको छ । विपतको बेलामा आफू कसरी बच्ने, अरुलाई बचाउने, उद्धार कसरी गर्ने भन्ने वास्तविक प्रदर्शन अथवा प्रत्यक्ष अभ्यास गराउने हेतुले स्काउटले जङगलमै लगेर प्रशिक्षण दिइरहेको छ । प्रशिक्षण दिनमा मात्र नभई रातमा पनि भइरहेको छ । जङ्गलको बीचमा बसेर टनेल बनाउनेदेखि कसरी बच्ने बचाउने अभ्यास गरेरै तालिम दिइरहेको स्काउट नेपालका ट्रेनर अरुण सैजुले बताए । त्यसैले यो तालिम खाली एउटा कोठामा बसेर दिइने तालिम मात्र होइन । यो तालिम अभ्यासहरु मार्फत साँच्चिकै आफूले गर्न सक्ने किसिमको लिडरहरु उत्पादन गराउने तयारी हो । 

तालिममा सातै प्रदेशभित्र पनि बाजुरा, डढेल्धुरा जस्ता देशकै कुना कुनाका जिल्लाहरुबाट पनि सहभागिता उत्साहजनक रुपमा रहेको छ । यो तालिम दिए पश्चात आ–आफ्नो क्षेत्र अथवा जिल्लामा गएर ट्रेनरको समूह बनाउने र ती समुहले अर्को चार सय जना लिडरहरुलाई सहभागि गराउने उद्देश्य नेपाल स्काउटले लिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल स्काउटका ट्रेनर अरुण सैजुको नेतृत्वमा तालिम सञ्चालन भइरहेको छ । यस तालिमको मुल अवधारणा विपतको बेलामा सुरक्षा फौजहरुलाई सहकार्य गर्नका लागि समूह खडा गर्नु हो, सैजुले भने ।

विगतका दिनहरुबाटै स्काउटले विभिन्न खालका तालिमहरु सञ्चालन गर्दै आएको छ तर, यसरी सशक्तरुपमा वास्तविक अभ्यास गरेर दिइएको तालिम भने पहिलो चोटी नै हो । 

Logo