सामुदायिक वनमा लागेको डँढेलोका कारण सनुवागाउँ उच्च जोखिममा

सामुदायिक वनमा लागेको डँढेलोका कारण सनुवागाउँ उच्च जोखिममा


उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नवउदय सामुदायिक वन र वडा नं २ स्थित सनुवा सामुदायिक वनमा आगो लागेको छ । दुवै सामुदायिक वनमा सोमबारदेखि डँढेलो लागेको हो । डँढेलोका कारण सनुवागाउँ उच्च जोखिममा परेको छ । 

डिभिजन वन कार्यलय उदयपुर गाईघाटका सहायक वन अधिकृत जागेश्वर शाहका अनुसार त्रियुगा नगरपालिका–२ स्थित चुरे क्षेत्रको सनुवा सामुदायिक वनमा अचानक डँढेलो लागेपछि अहिले चुरे क्षेत्र आसपासका ५० घरसहित सनुवागाउँ उच्च जोखिममा परेको छ । सोमबार साँझदेखि सनुवा सामुदायिक वन क्षेत्रमा सुरु भएको डँढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको स्थानीवासी बताउँछन् । सनुवा चुरे क्षेत्रको १५० हेक्टर क्षेत्रफल आसपासमा डँढेलो फैलिएपछि सनुवागाउँ डँढेलोको चपेटामा परेको डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जनाएको छ । 

सनुवागाउँ क्षेत्रमा डँढेलो आउन शुरु गरेपछि बुधबार साँझदेखि गाउँ बचाउनका लागि नेपाली सेना, जिल्ला प्रहरी, सशस्त्र प्रहरीसहित वनका कर्मचारी र उपभोक्तासहित ४०० भन्दा बढी जनशक्तिले डँढेलो नियन्त्रणमा लिने प्रयास शुरु गरिएको डिभिजन वनका सूचना अधिकृत शाहले बताए । बुधबार साँझदेखि रातभरि नै सुनुवा क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय उपभोक्तासमेत डढेलो नियन्त्रणमा लागिरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ ।

Logo