वायु प्रदूषणका कारण दैनिकरूपमा आँखाका बिरामी बढ्दै

वायु प्रदूषणका कारण दैनिकरूपमा आँखाका बिरामी बढ्दै


दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। 

वायु प्रदूषणको जोखिम बढेपछि हेटाैंडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ। विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले बताए। 
 
अहिले वायु प्रदूषणलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ। अस्पतालमा आँखाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुने लगायत टाउको दुख्ने समस्या रहेको बताइएको छ। अस्पतालमा नियमित आँखा जाँच गराउन आउने र फलोअपका लागि आउने तथा आँखाको शल्यक्रिया गराउन आउनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेकाले सेवाग्राहीको अत्यधिक चाप बढेको प्रशासक श्रेष्ठले बताए।
 
अस्पतालमा हप्तामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण दैनिक २०० आँखाका बिरामीको उपचार गर्दै आएको सो अस्पतालले बिरामीको चाप बढेपछि बिहान ७ बजेदेखि ११ बजेसम्म टाेकन दिने गरेको र त्यही समयदेखि उपचार सुरु हुने गरेको बताइएको छ । 

आँखाको सामान्य जाँच पश्चात् १५० भन्दा बढीले चश्मा बनाएर जाने गरेको श्रेष्ठले जानकारी दिए। आँखा अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीमध्ये ५० प्रतिशत स्वास्थ्य बीमाका सदस्य रहेको बताइएको छ। बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि एक हजार उपलब्ध हुने गरेको छ।

त्यसैगरी आँखाको निजी क्लिनिकमा उपचार गराउने तथा चश्मा पसलमा पनि चश्मा बनाउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ। वायु प्रदूषण र धुवाँधुलाेका कारण हेटौँडा  अस्पतालमा रुघाखोकी र नाक, कान र घाँटी तथा एलर्जीका बिरामीको उपचार गराउनेको सङ्ख्या बढेको सो अस्पतालले जनाएको छ। निजी क्लिनिक र नर्सिङ होममा पनि वायु प्रदूषणबाट प्रभावित बिरामी उपचार गराउने बढेको पाइएको छ ।रासस

Logo