अफ्रिकन रुट आहा रारा गोल्डकपको फाइनलमा

अफ्रिकन रुट आहा रारा गोल्डकपको फाइनलमा


अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो।

अफ्रिकनलाई जीत दिलाउन बासेक र मौसाले एक एक गोल गरे। खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २–० को जीत दिलाए ।

खेलको म्यान अफ दि म्याच मौसा चुनिए। पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनल पुगेको हो। सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ । अब उपाधिका लागि अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ। 

संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

Logo