स्वास्थ्य मापदण्ड पालना गरेर सर्तक हुन मेयर शाक्यको अपिल

स्वास्थ्य मापदण्ड पालना गरेर सर्तक हुन मेयर शाक्यको अपिल


स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र परिवारलाई बचाउन सकिने भन्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई नागरिक दायित्व ठानेर पालना गर्न आग्रह गरेका छन् । 

अदृश्य शक्तिसँग लड्न सजिलो छैन । विषम परिस्थितिलाई विवेक, धैर्यता र संयमताजस्ता गुणबाट परास्त गर्न सकिन्छ । शाक्यले महानगरबासीका नाममा गरेका अपिलमा भनेका छन् ,‘महामारीसँग सम्बन्धित कुनै समस्या परे आफूलाई उपमेयरलाई वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोला । सम्भावित जोखिम र अप्ठ्यारो परिस्थिति सामना गर्न हाम्रा तयारीहरुलाई निरन्तरता दिइरहेका छौँ ।’ 

‘विश्वभरि द्रुतगतिमा फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ काठमाडौँमा पनि फैलिइरहेको छ । संघीय राजधानी काठमाडौँ महानगरपालिकामा देशभरिकै नागरिकहरू विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूकोसमेत आवतजावत हुने मुख्यकेन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण यहाँ पनि द्रुतगतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनु पर्ने आवश्यकता रहेको छ । नेपाल सरकारले यस सम्बन्धमा जारी गरेका आदेश निर्देशन पालना गर्नु हामी सबैको कर्तव्य हो ।’ 

शाक्यले अपिलमा भनेका छन् ,‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मानी सकेसम्म बढी सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालन गर्न गराउनु हुन हार्दिक अपिल गर्दछु ।’ 

‘काठमाडौं महानगरपालिका मुलुककै प्रमुख सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने दायित्व पनि हामी सामु छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको विशिष्ट महत्व रहिआएको छ । अतः यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो । 

धार्मिक स्थलमा गएर आ–आफ्नो परम्परा अनुसार पूजापाठ एवं प्रार्थना गर्ने चलन छ । यस्ता सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्थाअनुरुप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्दछु ।’ प्रमुख शाक्यको अपिलमा भनिएको छ । 

अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोज जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गरिएको छ। दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्ने हो भने छिटै नै महामारीमाथि विजय पाउन सकिने उल्लेख गर्दै प्रमुख शाक्यले सानातिना लापर्वाहले ठूला समस्या आउनेतर्फ सचेत बनेर सबैले दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । 

महानगरवासीहरुमा कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा वा कोविड बाहेकका विरामीले उपचारका लागि अस्पताल जानु पर्ने भएमा हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१  मा तथा कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ । 

भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गरेका छन् । 

Logo