एक कप चियाकाे मूल्यमा बिरामी कुरुवालाई पेटभरि खाना, जहाँ दैनिक ७०० जनाले खाना खान्छन्

एक कप चियाकाे मूल्यमा बिरामी कुरुवालाई पेटभरि खाना, जहाँ दैनिक ७०० जनाले खाना खान्छन्


नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा गत आठ महिनादेखि 'अन्जनी माता रसोई'ले प्रति छाक २० रुपैयाँमा मानिसहरूलाई खाना खुवाउँदै आएको छ।

कोभिड महामारीबीच बिरामी र कुरुवालाई लक्षित गरी नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा 'सुन्दर काण्ड मित्रमण्डल'ले सञ्चालन गरेको अन्जनी माता रसोईमा दैनिक ७०० भन्दा बढीले खाना खाने गरेको बताइन्छ।

कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सबैजसो होटेल तथा रेस्टुराँहरू बन्द रहेको अवस्थामा अस्पताल परिसरभित्रै सुलभ दरमा खाना खान पाउँदा बिरामी कुरुवाहरूले खुसी व्यक्त गरेका छन्।

कुरुवा खुसी

दैलेखको महाबु गाउँपालिका-१ खरिगैराका गौतम साउदले सङ्क्रमित आफ्ना दाजुको भेरी अस्पताल नेपालगन्जमा उपचार गराइ रहेका छन्।

बिरामी दाजुलाई दैलेखबाट सुर्खेत हुँदै जेठ ५ गते नेपालगन्जको भेरी अस्पतालमा रेफर गरेपछि उनलाई खानाको चिन्ता थियो। तर अस्पताल परिसरमै २० रुपैयाँमा खाना खान पाउँदा उनी खुसी छन्। आफूसँगै बिरामी दाजुलाई पनि अन्जनी माता रसोईबाट खाना खुवाउने गरेको उनले बताए।

उनले भने, "नेपालगन्जको हकमा दुई सयदेखि दुई सय पचास सम्ममा साधारण खाना खानु पर्ने अवस्था थियो, तर २० रुपैयाँ भनेको एक कप चियाको मूल्य बराबर हो। यसले हामीलाई ठूलो राहत मिलेको छ।''

बर्दियाको गुलरियाबाट आफ्ना बुवाको उपचारका लागि भेरी अस्पतालमा आएकी सरिता पौडेलले पनि रसोईले दिँदै आएको सेवाको प्रशंसा गरिन्।

"यो बेला बाहिर कतै खुलेको छैन," उनले भनिन्, "हामीलाई यहाँ सजिलो भएको छ, खाना पनि मिठो छ, सफा छ, पैसा कम छ। अझ बिरामीलाई पैसा पनि लाग्दैन।"

अभियानको आरम्भ
भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन्। त्यस्ता बिरामी र कुरुवालाई लक्षित गरेर गत कार्तिक १० गतेदेखि सुन्दर काण्ड मित्रमण्डलले सुलभ दरमा खानाको व्यवस्था गरेको हो।

खाना खुवाउने अभियानको सुरुवातबारे जानकारी दिँदै रसोई व्यवस्थापनका संयोजक जितेन्द्रकुमार सिंहले भने, ''हाम्रो हिरामान हरिशङ्कर गिरी गुरुज्यू हुनुहुन्थ्यो, उहाँको ठूलो इच्छा थियो गरिब निमुखालाई भोजन गराउने तर उहाँको सोच अनुसार तयारी गर्दागर्दै उहाँ ब्रह्मलीन हुनुभयो। पछि उहाँकै तिथि पारेर यो सुरु गरेका हौँ।''

बिरामी र कुरुवालाई खाना
अन्नदानभन्दा ठूलो दान नहुने आफ्ना गुरुबाटै सिकेर करिब २६ सदस्य रहेको सुन्दर काण्ड मित्रमण्डलले दाताको सहयोग र आफ्नै खर्चमा सुरुमा २० रुपैयाँमा एक छाक मात्र खाना खुवाउने गरेकोमा अहिले बेलुकाको खाना पनि व्यवस्था गरिएको संयोजक सिंहले बताए।

बिरामी र कुरुवालाई लक्षित गरी सञ्चालन गरिएको रसोईमा हाल अप्ठेरोमा परेका सबै वर्गका मानिसले खाना खाँदै आएको उनले बताए।

सिंहले भने भने, "बिहान/बेलुकाको खाना लगभग दैनिक सात सय जनाभन्दा बढीलाई भोजन गराउँदै आएका छौँ। खाना खाने समयमा जो आउनुहुन्छ, सबैलाई भोजन गराउँछौँ।''

नि:शुल्क सेवा पनि
बिरामीलाई दालको रस र जाउलो नि:शुल्क उपलब्ध गराउँदै आएको रसोई व्यवस्थापकहरू बताउँछन्। त्यस्तै रकम नहुनेलाई नि:शुल्क भोजन पनि गराइने मित्र मण्डलका सदस्य प्रशान्त विष्टले बताए।

उनले भने, "यहाँ आएर कोहीसँग २० रुपैयाँ छैन भने हामी पैसा नलिएर पनि भोजन गराउँछौँ। एकदम सुलभ दरमा सबैले खान पाउन् भन्ने हाम्रो उद्देश्य हो। यो निरन्तर जाओस् भन्ने चाहना छ।''

अन्जनी माता रसोईका अनुसार हाल उसले २० जनालाई मासिक १२ देखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरी रोजगारी समेत दिएको छ।

महामारीका बेला बिरामी र कुरुवालाई खाना खुवाउन पाउँदा आफूलाई छुट्टै आनन्द आएको रसोईमा काम गर्दै आएकी सोना परियार बताउँछिन्।

"कैयौँ बिरामी राति १० बजेतिर आउनुहुन्छ। बाहिर सबै बन्द भइसकेको हुन्छ। 'खाना छ कि?' भनेर सोध्नुहुन्छ," उनी भन्छिन्।

"हामी घर जाने बेला पनि खाना बनाएर दिन्छौँ। हामीलाई केही गाह्रो हुँदैन, बरु आफ्नै दुःख सम्झेर सेवा गरिरहेका छौँ।"

रोजगारी पनि
आर्थिक अभाव भएर उपचारमा समस्या भएका बिरामीका आफन्तलाई पनि रसोईले रोजगारी दिएको छ।

१६ वर्षीय छोराको दुवै मिर्गौला खराब भएर भेरी अस्पतालमा डाअलसिस गराउँदै आएकी बढैयाताल बर्दियाकी मखमली परियार पनि हाल रसोईमा काम गर्छिन्।

आफूसँग उपचार खर्च पनि नभएको र निषेधाज्ञाका कारण हप्ताको दुई पटक घर जान/आउन गाह्रो भएपछि रसोईमा काम गर्न थालेको मखमलीले बताइन्। खाना र कामदारलाई पारिश्रमिक जोडेर हाल मासिक आठ लाख खर्च भइरहेको रसोई व्यवस्थापकहरू बताउँछन्।

सबैको सहयोग
मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको नेपालगन्ज उप-महानगरपालिकाले अब एक लाख उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ। रसोईलाई हाल देश/विदेशबाट पनि सहयोग प्राप्त भइरहेको रसोईका प्रवक्ता विमल चन्दले बताए।

उनले भने, "पुण्यको काम गरिरहेको भन्दै नेपालगन्जका मात्र नभएर नेपालका जुनसुकै ठाउँका र विदेशमा बस्दै आएकाले पनि सहयोग पठाइरहनुभएको छ।"

सङ्क्रमित बिरामीले भरिभराउ भेरी अस्पताल परिसरमा सकेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिइरहेको रसोईमा काम गर्नेहरू बताउँछन्। उनीहरूका अनुसार रसोई वरिपरि बार लगाइएको छ भने खाना खान आउनेलाई पालैपालो स्यानिटाइज गरेर मात्र प्रवेश गराउने गरिएको छ। हालसम्म रसोईमा काम गर्ने कसैलाई पनि सङ्क्रमण नभएको संयोजक सिंह बताउँछन्।बीबीसीबाट

Logo