ताप्लेजुङको एक स्थानीय तहको नामाकरण बिग्रिएको भन्दै सुधार्न माग

ताप्लेजुङको एक स्थानीय तहको नामाकरण बिग्रिएको भन्दै सुधार्न माग


ताप्लेजुङको एक स्थानीय तहको नामाकरण बिग्रिएको भन्दै स्थानीयले सुधार्नु पर्ने माग गरेका छन्। जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिकाको नाम सिरिजङ्गा हुनुपर्ने भन्दै स्थानीयले सुधार गर्नुपर्ने माग गरेका हुन्।

उक्त स्थानीय तह अर्थात गाउँपालिकाको नाम सच्याउनका लागि विशेष गरेर स्थानीय लिम्बू समुदायले जोड दिएका छन् । किराँती लिपिका पुनरुत्थापक, प्रचारक तथा अध्यात्मवादी समाज सुधारकका रुपमा चिनिएका इतिहास व्यक्तित्व सिरिजङ्गाको नामबाटै गाउँपालिकाको नामाकरण गरिएको हो। उनै इतिहास व्यक्तित्वको नाममा नामाकरण गरिएको गाउँपालिकाको नाम सिरिजङ्गा हुनुपर्नेमा सिरिजङ्घा भएकाले सच्याउन माग गर्न थालिएको छ।

फुङ्लिङ नगरपालिकापछि धेरै वडा रहेको अर्थात साविक आठवटा गाविस समेटिएको उक्त गाउँपालिकाको नाम परिवर्तन गराउनका लागि ‘सिरिजङ्गा नाम सुधार अभियान समिति’ नै गठन गरेर अभियान सुरु गरिएको छ। गाउँसभाबाट नै नाम सच्याउनका लागि गाउँपालिका कार्यालयमा निवेदन पेश गरिसकेको समितिका संयोजक कैलास माबोले बताए। 

नाम बिग्रिएर अर्थात अपभ्रंस भएर इतिहास नै नामेट हुने अवस्था आएकाले नाम सुधार अभियान सुरु गरेको माबोको भनाइ छ।

लिम्बू इतिहासमा राजा सिरिजङ्गाको अवतार ‘त्येअङ्सी सिरिजङ्गा’ भनेरसमेत चिनिँदै आएका सिरिजङ्गा नै यथार्थ नाम भएको प्रशस्तै प्रमाण रहेको सिरिजङ्गा नाम सुधार अभियान समितिले जनाएको छ। 

समितिका अनुसार विक्रम सम्बत् १७६१ मा जन्मिएका सिरिजङ्गासँग सम्बन्धित विभिन्न लेखहरु र २०४९ सालमा प्रकाशित हुलाक टिकटमा पनि सिरिजङ्गा नै उल्लेख छ। यिनै सबुत प्रमाणसहित नाम सुधार्नका लागि पहिलो पटक गाउँपालिका कार्यालयलाई निवेदन चढाएको समिति संयोजक माबोले बताए।

जिल्लामा लिम्बू समुदायको बाहुल्य बासोबास रहेको साथै अधिकांश ठाउँको नाम लिम्बू भाषा र संस्कृतिसँग सम्बन्धित भएकाले हालको नौ वटा स्थानीय तहको नामाकरण पनि अधिकांश लिम्बू पहिचानबाट गरिएका छन्। यता जिल्लाका अग्रजहरु पनि सिरिजङ्घा नभई सिरिजङ्गा नै यथार्थ नाम भएको बताउँछन्।

Logo