बाबियाचौर (म्याग्दी), ५ असार । म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । "/>

म्याग्दीका किसानले अपनाए सुन्तला खेतीमा नयाँ प्रविधि

म्याग्दीका किसानले अपनाए सुन्तला खेतीमा नयाँ प्रविधि


बाबियाचौर (म्याग्दी), ५ असार । म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् ।

बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो । राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न स्क्रिन हाउस (प्लास्टिक घर) निर्माण भएको छ ।

बास्कुनाका तिलक गुरुङ र राखुका राजु पुनले सुन्तला बगैँचामा पाँच हजार लिटर क्षमताको ड्रममा पानी र बिरुवाका लागि आवश्यक सुष्म तत्व मिसाएर सबै बोटको जरामा एकैसाथ सिँचाइ हुने गरी पाइप जडान गर्नुभएको छ ।

बिरुवालाई आवश्यक पर्ने पानीसँगै सुष्म तत्वका रुपमा गाईबस्तुको गहुँत मिसाएर बिरुवाको जरामा आपूर्ति गर्न थालिएको कृषक गुरुङले बताउनुभयो । चार सय सुन्तलाको बोट रहेको उहाँको बगैँचाका सबै बोटका जरामा पाइप जडान भएको छ ।

पानीका लागि बिरुवाको बोट बोटमा पुग्नुपर्ने समयको बचत हुने, आवश्यक पानी र मलखाद दिएर बिरुवालाई स्वस्थ्य बनाई उत्पादन बढाउन सकिने जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।

तरकारीखेतीमा यसअघि यस्तो प्रविधि प्रयोग गरिएको थियो । थोपा सिँचाइ प्रविधि जडानका लागि कृषि विकास कार्यालयले रु तीन लाख ५० हजार अनुदान दिएको थियो । यस्तै राखुमा सो कार्यालयको रु सात लाख ५० हजार अनुदान र कृषकको रु दुई लाख ५० हजार लगानीमा सुन्तलाको बिरुवा उत्पादन गर्ने स्क्रिन हाउस निर्माण भएको छ ।

चारैतिर जालीको बार र प्लास्टिकले छाएको उक्त घरभित्रको तापक्रम सन्तुलित हुने जनाइएको छ । घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो । विद्युतीय उपकरणको सहायताले एकैसाथ स्पिङ्कल सिँचाइ हुने व्यवस्था मिलाइएको सो प्लास्टिक घरबाट एकपटकमा ५० हजार बिरुवा उत्पादन गर्न सकिने क्षमता छ ।

बिजु र कलमी प्रविधिबाट बिरुवा उत्पादन गर्नका लागि जिल्लामै पहिलोपटक राखुमा स्क्रिन हाउस निर्माण गरिएको र आगामी वर्षदेखि बिरुवा उत्पादन सुरु गर्ने कृषक पुनले बताउनुभयो ।

उहाँले यसअघि खुल्ला ठाउँमा सुन्तलाको बिरुवा उत्पादन गर्दा रोग किराको समस्या देखिएको अनुभव सुनाउनुभयो । राखु र बास्कुनाका करिब ८० घरधुरी कृषकले २० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गरेका छन् । रासस

Logo