आहा रारा गोल्डकप : अफ्रिकन रुटद्वारा मछिन्द्र पराजित

आहा रारा गोल्डकप : अफ्रिकन रुटद्वारा मछिन्द्र पराजित


पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलमा अफ्रिकन रुट एसोसियसनद्वारा मछिन्द्र फुटबल क्लब पराजित भएको छ। पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो । जीतसँगै अफ्रिकन रुट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

अफ्रिकनलाई जीत दिलाउन मौसा र एनजिमीले एक एक गोल गर । मछिन्द्रका अभिषेक रिजालले एक गोल फर्काए। क्यामरुनी खेलाडीले भरिएको अफ्रिकनले २३ औं मिनेटमा मौसाको गोलबाट अग्रता बनाएको थियो । उनले डि–बक्स भित्र पाएको अवसरलाई सहजै गोलमा परिणत गरे। खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले गोल गर्दै टिमको अग्रता २–० को बनाए।

खेलको इन्जुरी समयमा अभिषेकले एक गोल गरेपनि मछिन्द्र २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। सुनिल बलको पासमा रिजालले पोस्टको दिशा दिएका थिए। 

खेलको म्यान अफ दि म्याच मौसा चुनिए । शनिबार भएको पहिलो खेलमा जीत निकाल्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ । अब सोमबार हुने तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन्।

अन्तिम क्वाटरफाइनलमा थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ। यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

Logo