के नेपालले भारतविरुद्ध इतिहास रच्ला ?

के नेपालले भारतविरुद्ध इतिहास रच्ला ?


साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच आज साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । नेपाल समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा भुटान र श्रीलंकालाई पराजित गरेको थियो । त्यस्तै, भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले पाकिस्तान र माल्दिभ्सलाई पराजित गरेको थियो भने बाङ्लादेशसँग पराजित भएको थियो ।

साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गर्न नसक्दा चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । एकपटक भने भारतसँग नेपाल सेमिफाइनलमै रोकिसकेको छ । 

घरेलु मैदानमा अहिले साफको छैठौं संस्करण जारी छ र यो पटक नेपाल र भारत सेमिफाइनलमै आमने सामने हुँदैछन् । तर यस पटक नेपाली खेलाडीहरुले नेपालको उपाधि यात्रामा भारत बाधक नबन्ने विश्वास ब्यक्त गरिसकेका छन् । 

नेपालले जारी प्रतियोगिताको आफ्नो पहिलो र दोस्रो खेलमा क्रमशः भुटानलाई ४–० र श्रीलंकालाई सजिलै ६–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनलमा पुग्दासम्म नेपाली डिफेन्सलाई खासै चुनौती मिलेको देखिएन तर सेमिफाइनल खेल भने बलियो भारतसँग छ । भारत नेपाली महिला, पुरुष वा कुनै उमेर समुहको लागि नै किन नहोस सधैंको तगारो हुने गरेको छ । नेपाल भारतसँग अहिलेसम्म ५ पटक भिडिसकेको छ । जसमा हरेक पटक नेपाल भारतसँग पराजित हँुदै आएको छ । सोहीकारण भारत आफ्नो उपाधि होड यात्रालाई कायम राख्न नेपाललाई हराउन चाहन्छ ।  

नेपाली महिला टोली ७ हप्ताको अभ्यास खेल पश्चात साफ खेल्नका लागि मैदान उत्रेको हो । नेपालका लागि भुटान र श्रीलंका विरुद्धको खेल अभ्यास खेल जस्तै थियो । सोहीकारण आजको खेल नेपालका लागि आफ्नो डिफेन्स परिक्षणसँगैं प्रतिस्ठाको खेल पनि हुनेछ ।  ‘नेपाली डिफेन्डर र गोलरक्षकको परीक्षण नै भएको छैन ।’ प्रशिक्षक कुमार थापाले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले हराएर समूह विजेता बनेपछि दिएको प्रतिक्रिया हो यो । हुन पनि नेपालले खेलेको समूह चरणको दुई खेलमा डिफेन्स लाइन केही व्यस्त हुँदा गोलकिपरले खासै मेहेनत नै गर्नुपरेन । 

‘अहिलेसम्मको प्रदर्शनलाई हेर्ने हो भने हामी गोल गर्न हतार देखियौं । अब बाँकीका खेल सिस्टममा खेल्ने छौं । खेलाडीले आफ्ना पछिल्ला दुई खेलमा आफ्नो ट्यालेन्ट देखाए । यो राम्रो कुरा हो, तर यसरी खेले बाँकीका खेलमा गाह्रो हुन्छ । हाम्रो डिफेन्स कस्तो र गोलकिपिङ कस्तो भनेर परीक्षण गर्नै पाएका छैनौं । भारतसँगको खेला हाम्रो लागि च्यालेन्जिङ हुन सक्छ । भारतसँगको खेलमा हाम्रो डिफेन्स लाइन र गोलकिपिङ बलियो छ भन्ने देखाउँने छौं ।’ यो पनि प्रशिक्षक थापाले बोलेका शब्द हुन् ।

थापासँगको अर्को संयोग के पनि छ भने उनको प्रशिक्षणमा पछिल्लोपटक नेपाल भारतसँग सेमिफाइनलमै पराजित भएको थियो । यसपटक थापा त्यो छविलाई बदल्ने प्रयासमा हुनेछन् । साफ च्याम्पियनसिपको त्यो हारको ६ वर्षपछि थापा पुनस् प्रशिक्षकको भुमिकामा छन् ।
थापासँग भारतविरुद्ध त्यही स्थानबाट बदला लिने मौका छ । अन्यथा फेरि एकपटक थापा सेमिफाइनलको जिंक तोड्न असफल हुनेछन् । त्यसैले थापा भन्छन्, ‘विगत सम्झिएर वर्तमानको तुलना गर्न मिल्दैन । हामी वर्तमान समयमा नतिजा आफ्नो पक्षमा पार्न भरपुर प्रयास गर्नेछौं ।’

इतिहासमा भारतविरुद्ध नेपाल 
नेपाल र भारतले साफ महिला च्याम्पियनसिपका अघिल्ला पाँचै संस्करणमा एकअर्काको सामना गरेका छन् । जसमा सबै खेल भारतले जितको छ । यी दुई टोलीले सन् २०१० को पहिलो संस्करणको फाइनलमा एकअर्काका सामना गर्दा भारत १–० ले विजयी भएको थियो । त्यस्तै, २०१२ र २०१४ को फाइनलमा पनि नेपाल क्रमशः ३–१ र ६–० ले पराजित भयो । 

२०१६ को साफ च्याम्पियनसिपमा भने यी दुई टोलीबीच सेमिफाइनलमै भेट हुँदा भारतले ३–१ को जित निकाल्यो । २०१९ को पछिल्लो संस्करणको फाइनलमा पनि नेपाल ३–१ ले पराजित हुन पुगेको थियो । 
 
 

Logo