माधव नेपालको प्रश्नः राष्ट्रपतिले अरु पनि असंवैधानिक कदम चाले के गर्ने ?

माधव नेपालको प्रश्नः राष्ट्रपतिले अरु पनि असंवैधानिक कदम चाले के गर्ने ?


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर संकट निम्त्याएको बताएका छन्। 

उनले संविधानको पालना नगर्ने राष्ट्रपतिले अरु असंवैधानिक कदम चाले के गर्ने ? भन्ने प्रश्न समेत गरे। बुधबार पार्टी निकट युवा संघको कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको प्रावधान राष्ट्रपतिबाट अस्वीकार गरिएको बताए। ‘संविधानमा संसद्ले कुनै पनि विधेयक पास गरेर पठाएपछि राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्नुपर्छ। राष्ट्रपतिलाई त्यस्तै केही लागेको छ भने एकपटक संसद्‌मा फिर्ता पठाउन सक्छिन्। फेरि दुइटै सदनले हेरेर पठायो। त्यसलाई राष्ट्रपतिले स्वीकार गर्नै पर्थ्यो। तर हिजो १५ दिनको समय बित्दाखेर उनले स्वीकार गरिनन्,’ उनको भनाइ छ।

उनले राष्ट्रपतिबाट संविधान मिच्ने क्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दै देखि सुरु भएको बताए। आफूहरु हस्ताक्षरसहित उपस्थित हुँदा समेत शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको घटनाको चर्चा गर्दै उनले राष्ट्रपतिको भूमिकाको आलोचना गरे।

उनले राष्ट्रपतिको कदमको समर्थनमा केपी ओलीका मानिसहरुले जुलुस निकालिरहेको टिप्पणी गरे । ‘ओलीका सय/पचास जनाले राष्ट्रपति जिन्दावाद भन्दै समर्थनमा जुलुस निकाल्दै छन् रे । राप्रपा नेता कमल थापाले प्रशंसा गरेका छन् । प्रतिगामी शक्तिले प्रशंसा गर्ने र क्रान्तिकारी शक्तिले निन्दा गर्ने स्पष्ट देखिएको छ । केपी ओली पनि दक्षिणपन्थी कित्तामा भासिएका छन् ।,’ अध्यक्ष नेपालले भने ।

Logo