इङ्ल्याण्डमाथि पाकिस्तानको कीर्तिमानी जित

इङ्ल्याण्डमाथि पाकिस्तानको कीर्तिमानी जित


पाकिस्तान र इंग्ल्यान्डबीच जारी ७ खेलको टी-२० सिरिजको दोस्रो खेलमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित निकालेको छ ।

पाकिस्तानले १० विकेटको जितसँगै सिरिज १-१ को अवस्थामा पुगेको छ । इंग्ल्यान्डमाथि पाकिस्तानले घरेलु मैदानमा कीर्तिमानि जित निकाल्दा ओपनर बाबर अजामले नटआउट शतकिय इनिङ्स खेले । कप्तान बाबर र मोहमद रिजवानले टी-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य भेटाउने क्रममा  विना विकेट जित हासिल गरे । 

यी दुईले लक्ष्य भेटाउने क्रममा विकेट नगुमाइ सर्वाधिक ठूलो लक्ष्य चेज गर्ने कीर्तिमान बनाए । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ३ बल बाँकी हुँदा विकेट नगुमाई २०० रनको लक्ष्य पुरा गर्दै दोस्रो पटक कीर्तिमान १० विकेटको जित हासिल गर्‍यो । पाकिस्तानले यसअघि २०२१ को विश्वकपमा भारतलाई १० विकेटले हराएको थियो ।

पाकिस्तानको जितमा बाबरले ६६ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १ सय १० रनमा अविजित रहँदा उनलाई रिजवान ५१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८८ रनमा अविजित रहेर साथ दिए । यी दुईले कुनैपनि टी(२० अन्तर्राष्ट्रियमा गरेको यो सर्वाधिक ठूलो अविजित साझेदारी हो । उनीहरुले अविजित २ सय ३ रनको साझेदारी गरेका थिए । यसअघि २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय ९७ रनको साझेदारी गरेका थिए ।

Logo