न्युजिल्यान्डमाथि सानदार जित निकाल्दै पाकिस्तान फाइनलमा

न्युजिल्यान्डमाथि सानदार जित निकाल्दै पाकिस्तान फाइनलमा


पाकिस्तान आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डमाथि ७ विकेट सानदार जित निकाल्दै उपाधि होडमा पुगेको हो । 

न्युजिल्यान्डले जितका लागि दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । पाकिस्तानका लागि ओपनरद्वय कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट प्रदर्शन गरे । उनीहरु दुवैले अर्धशतक पारी खेले । रिजवानले सर्वाधिक ५७ रन तथा बाबरले ५३ रन जोडे ।  

त्यस्तै, मोहम्मद हरिसले ३० रन जोडे । 

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डर्याल मिचेल र्वाधिक ५३ रनमा अविजित रहे । त्यस्तै, कप्तान केन विलियम्सन ४६ रन तथा डेभोन कन्वेले २१ रन जोडे । 

पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने मोहम्मद नवाजले १ विकेट लिए ।

न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेका थिए । पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न जित्नै पर्ने खेलमा नेदरल्यान्ड्सँग स्तब्ध भएपछि पाकिस्तान नाटकीय रुपमा सेमिफाइनलमा पुगेको थियो । पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । त्यसपछि उपाधि होडको यात्राबाट बाहिर रहँदै आएको थियो । 

अब दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । सो खेलमा विजयी टोलीले आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा पाकिस्तानसँग खेल्नेछ ।  

Skip This
Logo