लगातार तेस्रो जित निकालेकाे लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा

लगातार तेस्रो जित निकालेकाे लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा


काठमाण्डौँमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार तेस्रो जित हात पार्दा पोखरा एभेन्जर्सले भने लगातार तेस्रो हार व्यहोरेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोरेको हो । पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा शाडले क्लाउड वैन शाल्कविकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए । पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २÷२ तथा प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले ।

१० ओभरमा २७ रन मात्र बनाएको पोखरा मल्लको बिष्फोटक ईनिङको सहयोगमा सम्मानजनक योगफल सम्म पुग्यो । उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।लुम्बिनीका लागि शाडले क्लाउड वैन शाल्कविकले ३ तथा किशोर महतो र गुलसन झाले समान २÷२ विकेट लिए । लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । पोखरा ३ खेलमा अंक विहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउनेछ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् ।  

Logo