पेले सम्बन्धी नसुनिएका रोचक कुरा !

पेले सम्बन्धी नसुनिएका रोचक कुरा !


फुटबल जगतमा सबैभन्दा धेरै नाम लिइने ब्राजिलका विश्व प्रख्यात महान् फुटबलर पेलेको निधन भएको छ । लामो समयदेखि मृगौला र प्रोस्टेट रोगबाट ग्रसित ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भयो । पेलेको सहभागितामा ब्राजिलले पहिलो पटक १७ वर्षको उमेरमा फिफा विश्वकपको उपाधि जितेको थियो ।

खेलकुद जगतमा पेले जति लोकप्रिय, चर्चित र प्रख्यात छन् यति कोही पनि हुन सकेका छैनन् । उनले फुटबल खेलेको देख्दालाग्छ पेले फुटबल खेल्नकै लागि जन्मिएका हुन्  । उनको सहभागितामा ब्राजिलले सन् १९५८, १९६२ र १९७० गरी तीनपटक विश्वकपको उपाधि जित्यो । तीन विश्वकप उचाल्ने पेले विश्वका एक मात्र फुटबलर हुन् । यसका साथै सबैभन्दा कम उमेरमा विश्वकपमा गोल गर्ने र धेरै फाइनल खेल्ने रेकर्ड पनि पेलेकै नाममा छ । पेलेले क्लब र देशका लागि १२ सय ८१ गोल गरेर विश्व रेकर्ड आफ्नो नाममा राखेका छन् । 

महान् खेलाडी पेलेको जीवनसँग जोडिएका धेरै रोचक प्रसङ्गहरू छन् ।

पेले नाम नै एक रोचक तथ्य
सबैभन्दा रोचक कुरा उनको नाम नै हो । पेलेको नामबाट चिनिने यो नाम न उनको असली नाम थियो न त ‘निकनेम’ नै । उनको असली नाम एडसन अरान्तोस दो नासिमेन्तो हो । तर उनलाई विश्वले पेले भनेर चिन्छ । उनको नाम पेले कसरी रह्यो रु भन्ने बारेमा हालसम्म कुनै स्पष्ट जानकारी पाइएको छैन । पेले नाम रहनुको कारणबारे पेलेले आफ्नो आत्मकथा ‘ह्वाइ सकर म्याटर्स’ मा बयान गरेका छन् । 

उनले लेखेका छन्- “कोही पनि सही तरिकाले पेले नाम कहाँबाट आयो बताउन सक्दैनन् । तर मेरो मामा जर्जले भनेको कुरा सबै भन्दा विश्वसनीय छ ।” जर्जका अनुसार बाउरुको स्थानीय फुटबल क्लबका एक गोलकिपरको नाम बिले थियो । बिले आफ्नो शानदार गोल किपिङ्गको कारण निक्कै लोकप्रिय थिए । 

अर्कोतर्फ बाल्यकालमा पेलेले गोल किपरको पनि भूमिका निर्वाह गर्दा राम्रो बचाउ गर्थे । त्यसैले मानिसहरु उनलाई दोश्रो बिले भन्ने गर्थे । पेलेले आफ्नो आत्मवृतान्तमा भनेका छन्-  “हेर्दाहेर्दै बिले कहिले पेलेमा बदलियो कसैले ख्यालै गरेनन्।”

पेले सानोमा खाली खुट्टा फुटबल खेल्थे 
पेले सानोमा खाली खुट्टै फुटबल खेल्थे । त्यसैले सबैले उनलाई ‘पेलेदास’ भनी बोलाउँथे । पेलेको परिवार गरिब भएको कारण उनी खाली खुट्टा फुटबल खेल्थे । उनले आफ्नो फुटबल किन्ने रहर पूरा गर्न हलमा चना बेचेर र जुत्ता पालिस गरेर पैसा जम्मा गर्थे । पेले च्यात्तिएको पुरानो कपडाको बल बनाएर फुटबल खेल्थे भने कहिले घरको नजिक रहेको रेल स्टेशनमा रोकिएका रेलका सामानहरु चोर्थे र त्यसलाई बेचेर आएको पैसा जम्मा गरेर बल किन्थे ।

रेफ्रीले मैदान छाड्नु परेको थियो
बोगोटामा सन् १९६८ जुन १८मा पेलेको क्लब सान्तोस एफसीले कोलम्बियन ओलम्पिक स्वाडसँग एउटा मैत्रीपूर्ण खेल खेलेको थियो । दर्शकले भरिएको रङ्गशालामा रेफ्रीले फाउल र आफ्नो अपमान गरेको भन्दै पेलेलाई मैदान छाड्न भने । रेफ्रीको उक्त निर्णयको विरोधमा सान्तोसका खेलाडी र दर्शकले उनलाई घेरे । त्यसपछि ती रेफ्रीले खेल मैदान नै छाड्नु परेको थियो । 

कहिल्यै युरोपेली क्लबबाट खेलेनन्
पेलेले कहिल्यै युरोपेली क्लबबाट फुटबल खेलेनन् । सान्तोस एफसी क्लबले पेलेको लागि रियल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव ल्याइदिन्थे । तर पेलेलाई ब्राजिलमै राख्न त्यहाँको सरकारको उच्चतहबाट दबाव दिएका थिए । सन् १९६१ मा त्यहाँका राष्ट्रपतिले पेलेलाई “राष्ट्रिय सम्पत्ति”भन्दै निर्यात गर्न नसकिने बताएका थिए ।

५० वर्षको उमेरमा बल्ल कप्तान
सधै क्लब र देशको लागि क्याप्टेन बन्न अस्वीकार गर्ने पेलेले ५० वर्षको उमेरमा एक पटक क्याप्टेनको भूमिका निर्वाह गरे। सन् १९९० मा आफ्नो राष्ट्रिय टोलीको जिम्मेवारीबाट सन्यास लिएको १९ वर्षपछि क्याप्टेनको भूमिका निर्वाह गरेका हुन् । आफ्नो ५०औँ जन्मदिनका अवसरमा मिलानमा ब्राजिल विरुद्ध बाँकी विश्वले खेलेको मैत्रीपूर्ण खेलमा पेलेले ४५ मिनेट क्याप्टेनका रुपमा खेलेका थिए ।

मैदानमै उत्रिए दर्शक 
सान्तोस एफसीका खेलाडीहरू ट्रिनिडाड एन्ड टोबागोमा सन् १९७२ को सेप्टेम्बर ५ मा खेल्दा त्यति सन्तुष्ट थिएनन् । त्यहाँ आन्दोलन भएको कारण उनीहरू सक्दो छिटो खेल सकेर विमानमा फर्किन चाहान्थे । तर पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए । मैदानमै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले । उनलाई विमानमा पुग्न केही समय लागेको थियो । 

राष्ट्रपति बन्न चाहन्थेँ
सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा बताएका थिए । त्यो अवसर कहिल्यै आएन । तर उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुद मन्त्री बनेका थिए । 

१६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेल जीवनमा प्रवेश 
पेलेले १६ वर्षको उमेरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए । साथै उनले १७ वर्षमा विश्वकप फुटबल प्रतियोगितामा भाग लिएका थिए । यसमा उनी सर्वश्रेष्ठ खेलाडी पनि घोषित भएका थिए भने ब्राजिलले पहिलो पटक विश्वकप सोही समय जितेको थियो ।

गोलकिपरको हात नै भाँच्दिए
पेलेको प्रहारबाट एक गोलकिपरको हात नै भाचिएको थियो । सन् १९७० को विश्वकप फुटबलमा इंग्ल्यान्ड विरुद्धको खेलमा पेलेको एक प्रहार यति शक्तिशाली थियो कि त्यसलाई रोक्ने प्रयास गर्दा इंग्ल्यान्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात ९ ठाउँमा भाँचिएको थियो ।

दर्जनौँ उपनाम
पेलेको असली नाम एडसन अरान्तोस दो नासिमेन्तो हो । तर उनलाई त्यो नामले कसैले पनि चिन्दैन् । उनी पेलेको नामबाट विश्व प्रख्यात छन् । यो बाहेक पनि उनलाई समर्थकहरुले माया गरेर दर्जनौ उपनाम दिएका छन् । तीमध्ये उनी बादशाह, कालो मोती, फुटबलका जादुगर जस्ता उपनामले बढी प्रख्यात छन् । 

लाखौं दर्शकले नाङ्गै बनाए पेलेलाई 
पेलेको आत्मकथा “माइ लाइफ एण्ड द ब्युटि फूल गेम” सँग पनि अनौठो प्रसंग जोडिएको छ । त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भिड जम्मा भइसकेको थियो । उनलाई हेर्न झुम्मिएका सबैजना पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थे । ती प्रशंसकहरूले पेलेको लुगा टुक्रा टुक्रा पारेर च्यातेर लगे । लुगा नपाउनेले उनको कारको पाट पुर्जासमेत बाँकी राखेनन् । भनिन्छ- त्यसदिन पेले लगभग नाङ्गै हिँडेर घर पुगेका थिए ।

रेफ्री नै निलम्वित 
सन् १९६८को फिफा विश्वकपमा पेलेले रातो कार्ड पाएका थिए । उनले आफूलाई रातो कार्ड दिने रेफ्रीविरुद्ध फिफामा उजुरी गरी सुनुवाई गर्न लगाए । त्यसपछि उल्टै त्यो कार्ड दिने रेफ्रीलाई एक महिना लामो निलम्बनको सजाय दिइएको थियो । 

धेरै कम्पनीका ब्रान्ड एम्बेसडर
पेले धेरै कम्पनीका ’ब्रान्ड एम्बेसडर’ थिए । उनी राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका लगानीकर्ता एवं साझेदार पनि थिए । उनले आफ्नो देश ब्राजिलमा लाखौँ संख्यामा रहेका सडक बालबालिकाका लागि आत्म निर्भरता उन्मुख कल्याणकारी कार्यक्रम समेत सञ्चालन गर्थे । 

पेले एक अभिनेता 
पेले महान फुटबलर मात्र नभएर अभिनेता पनि हुन् । उनले आफ्नो जीवनमा करिव एक दर्जन फिल्ममा अभिनय गरेका छन् । 

पेले प्रेरणाको स्रोत
पेलेलाई संसारले प्रेरणाको स्रोतको रुपमा लिन्छ । उनको नाममा धेरै कविता र उपन्यासहरू समेत लेखिएका छन् । उनको जीवनको सङघर्षको बारेमा विद्यालयमा शैक्षिक सामग्री बनाएर शिक्षा दिइन्छ ।

Logo