काठमाडौं,
नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले दिएको राजीनामा स्वीकृत गर्दै उपकप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।
आइसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेसँगै पारसले राजीनामा दिएका थिए । पारस सन् २००९ मा कप्तान बनेका थिए ।
नवनियुक्त कप्तान मल्ल दायाँ हाते ब्याट्सम्यान हुन् । ज्ञानेन्द्रको औपचारिक क्रिकेट यात्रा सन् २००५ मा एसीसी यु—१५ बाट शुरु भएको हो । उनी त्यस अघि विभिन्न घरेलु टिमबाट खेल्थे । सन् २००६ मा नेपालमा भएको यू १९ मा नेपालले एसीसीको यू १९ को ट्रफी जित्यो । जसका मुख्य खेलाडी मध्येका एक थिए ज्ञानेन्द्र मल्ल । नेपालले खेलेको पहिलो वान डे इन्टरनेशनल ओडिआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन् मल्ल । यस्तै उपकप्तानमा दिपेन्द्र सिंह ऐरी नियुक्त भएका छन् ।
यसैबीच ऋत गौतमकोे कप्तानीमा यू–१९ च्यालेन्जर खेल्ने नेपाली टीम घोषणा भएको छ । जसमा लोकेशबहादुर बम, त्रितराज दास, विशाल विक्रम केसी, खडकबहादुर बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरि र कुशल मल्ल छन् । यस्तै विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी छन् । वैकल्पिक खेलाडीको सूचिमा दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटा भने परेका छन् ।
प्रकाशित: १३ कात्तिक २०७६ १५:४२ बुधबार