क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड, तीनदिनमै एक लाखले गरे अवलोकन

क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड, तीनदिनमै एक लाखले गरे अवलोकन


मंगलबारबाट भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक- २०२३ जारी छ । यस वर्षको इन्फोटेकमा नयाँ उत्पादन र अफरसहितका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । 

क्यान इन्फोटेकको तेस्रो दिनसूचना सञ्चार प्रविधिको ठूलो प्रदर्शनीलाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन् ।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको छ । क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रवद्र्धन गरेको छ । तीन दशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ । साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रोडक्टको पनि प्रदर्शनी गरिरहेको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक २०२३ माविहीबारसम्म करिब एक लाख जनाले मेलाको अवलोकन गरेका छन् । कृषि, पर्यटन, हस्पिटालिटीलगायत हरेक क्षेत्र प्रविधि प्रयोग नगरी नहुने भएकाले पनि हरेक व्यक्तिको आकर्षण बन्न पुगेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
 
त्यस्तै महासंघका अध्यक्ष रञ्जित कुमार पोदारले आर्थिक मन्दीको बेला पनि मेला सोचेअनुरुप सफल भइरहेको बताए । मेलाले विशेषगरी विद्यार्थीहरुलाई विशेष लाभ दिने उनले बताए ।
 
मेला अवलोकन गर्न पुगेका कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्ता मेलाहरुले प्रविधिमा फड्को मार्न निकै सहयोग पुग्ने बताए । सहरी क्षेत्रमा मात्रै मेला आयोजना नगरी दुर्गम तथा ग्रामीण भेगका जनताहरुलाई समेत प्रविधिको बारेमा जानकारी दिन सरकारले पहल गर्नुपर्ने उनले बताए । 
 
क्यानका निवर्तमान अध्यक्ष नवराज कुँवरले मेलाको २८ औं संस्करणमा आइपुग्दा प्रविधिले निकै फड्को मारेको बताए । विगतका वर्षहरुमा मानिसहरुले मेलामा किनमेल गर्ने धारणाले मात्रै उपस्थिति जनाएपनि पछिल्ला वर्षहरुमा प्रविधिको बारेमा चासो राख्ने र जान्न खोज्ने मानिसहरुको संख्या बढेको र यो सकारात्मक परिवर्तन भएको उनले बताए ।
 
मेला माघ २९ गतेसम्म सञ्चालन हुनेछ । मेलामा करिब ३ लाख जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Logo