‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’ -युक्रेन

‘रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्छ’ -युक्रेन


रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । देशका पूर्वी र दक्षिणी शहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उनले रुसमाथि थप पश्चिमा प्रतिबन्ध आवश्यक भएको बताएका हुन् । 

शनिबार रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक प्रहार गरेको जनाउँदै युक्रेनी सेनाले पूर्वी डोनेट्स्क प्रान्तमा पाँच जना गैरसैनिक घाइते भएका बताएको छ । सेनाका अनुसार औद्योगिक पूर्वी क्षेत्र र उत्तरपूर्वमा रुसी आक्रमण केन्द्रित थिए ।

देशमा युद्ध चर्किरहेका बेला राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनमा हार्नुपर्ने बताउँदै आएका छन् । उनले रुसी सेनालाई परास्त गर्न सकिने उल्लेख गर्दै थप प्रतिबन्धमा जोड दिएका छन् । उनको अनुरोधसँगै संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोलाई दण्डित गर्न प्रतिबन्धका नयाँ उपायहरू घोषणा गरेका छन् । 

राष्ट्रपति जेलेन्स्कीले रुसको आणविक निगम रोसाटोम र रूसी आणविक उद्योगविरुद्ध निर्णायक कदम चालिनुपर्ने तथा सैन्य र बैंकिङ दबाब बढाउनुपर्ने बताउँदै आएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोसाटोम र रक्षा मन्त्रालयले आवश्यक परेम आणविक हतियार परीक्षण पुनः सुरु गर्न तयार रहेको अभिव्यक्ति दिएपछि उनले कठोर प्रतिबन्धको माग गरेका हुन् । 

अमेरिकाले आणविक हतियार विकास गरिरहेको र शीतयुद्धको अन्त्यपछि लागू भएको विश्वव्यापी परीक्षण प्रतिबन्धअन्तर्गत प्रतिबन्धित आणविक परीक्षण गर्ने योजनामा अमेरिका रहेको राष्ट्रपति पुटिनले आरोप लगाएका छन् । “यदि अमेरिकाले परीक्षण गर्छ भने, हामी पनि गर्नेछौं,” उनले भनेका थिए । 

विश्वको आधाभन्दा बढी अर्थतन्त्र प्रतिनिधित्व गर्ने ३० भन्दा बढी देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् तर रुसी अर्थतन्त्र, व्यापार र कलकारखानामा अपेक्षाकृत ठूलो झट्का लागिसकेको छैन । 

अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले पछिल्लो अमेरिकी प्रतिबन्धलाई विवेकहीन भनेका छन्। उनले आफ्नो देश आर्थिक र राजनीतिक दबाबमा बाँच्न अभ्यस्त भएको उल्लेख गर्दै विगतका प्रतिबन्धबाट विश्व बजारलाई धेरै हदसम्म हानी भएको बताए । -एपी 

Logo