आर्मीको पुनरागमन जित

आर्मीको पुनरागमन जित


दीपक गुरुङले इन्जुरी समयमा गोल गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा पाँचौं खेलबाट दोस्रो जित निकाल्दा अर्को खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले पहिलो अंक जोडेको छ ।  

फुटबलमा अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले फ्रेन्ड्स क्लवबिरुद्ध पुनरागमन २–१ को जित निकाल्न सफल भएको हो । 

च्यासल मैदानमा शनिवार सम्पन्न खेलको छैटौं मिनेटमा फ्रेन्ड्सका टोरिक जिब्रिनले उपलब्ध गराएको पासलाई रफिक अमिनुले सदुपयोग गर्दै ललितपुरे टोलीलाई अग्रता दिलाएका थिए । अग्रता लिएसँगै रक्षात्मक देखिएको फ्रेन्ड्सविरुद्ध आर्मीले २४औं मिनेटमा बराबरी गोल फर्कायो । दीपक गुरुङले उपलब्ध गराएको बललाई जिलेस्पीजंग कार्कीले हेडरमार्फत जाली चुमाउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा आर्मीले आक्रामक रणनीतिलाई निरन्तरता दियो । सो क्रममा केही सुनौला अवसर सिर्जना भएपनि आर्मीको अग्रपंक्तिले सदुपयोग गर्न असफल बन्यो । तर इन्जुरी सयममा दीपक गुरुङले गोल गर्दै आर्मीको जित निश्चित गरेका हुन् । पेनाल्टी बक्सभित्र बारम्बार प्रयास किलियर हुन नसकेको बललाई दीपकले जाली चुमाउन सफल भएको थियो ।

दोस्रो हाफमा आक्रामक देखिएको आर्मीका लागि ७४ औं मिनेटमा दिनेश हेन्जनले प्रहार गरेको फ्रिकिकमा दीपकको हेडरबललाई फ्रेन्ड्सका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउँ गरे । लगत्तै फे्रन्ड्सले काउन्टरको प्रयास गरे पनि असफल भयो । इन्जुरी समयमा फ्रेन्ड्सका जिब्रिनको प्रहारलाई गोलकिपर विकेश कुथुले बचाए ।

यसअघि संकटा र एनआरटीसँग बराबरी खेलेको आर्मीले साविक विजेता मच्छिन्द्रलाई पराजित गर्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लवसँग हार व्यहोरेको थियो । यसैगरी सातादोबाटो र खुमलटारसँग पराजय ब्यहोरेको फेन्ड्सले थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लवलाई पराजित गरेको थियो । 

यस जितसँगै आर्मीले पाँच खेलबाट ८ अंक बनाएको छ भने अन्तिम समयमा सम्हालिन असफल फ्रेन्ड्सको पनि समान खेलबाट ४ अंक भएको छ ।

लिग अन्तर्गत शनिवार भएको अर्को खेलमा नेपाल पुलिस क्लवले न्युरोड टिम (एनआरटी)सँग १–१ गोलको बराबरी खेल्दै जारी लिगमा पहिलो अंक जोड्न सफल भएको छ । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले पुनरागमन गर्दै अंक खोस्न सफल भएको हो । 

यस अघि पुलिसले लगातार चार खेलमा हार व्यहोरेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले आक्रामक रणनीति बुन्दै खेलेका थिए । पहिलो हाफ निकै प्रतिष्पर्धात्मक बनेको पनि गोल भने हुन सकेनन् । दोस्रो हाफमा एनआरटीले शुरुवाती अग्रता लियो । ६४औं मिनेटमा बैकल्पिक खेलाडी छिरेका सञ्जीव बिष्टले गोल गर्दै एनआरटीलाई शुरुवाती अग्रता दिलाएका थिए । 

पेनाल्टी क्षेत्रभित्र एनआरटी र पुलिसका डिफेन्डरबीचबाट निस्किएको बललाई पुलिसका गोलकिपर संजित श्रेष्ठले किलियर गर्न चुक्दा सन्जिबले पोस्टको जाली चुमाए । तर, ७५ औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई खेलमा फर्काए । प्रतापले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । त्यसबाहेक दुवै टोलीले गोलका लागि प्रयास गरेपनि असफल हुँदै अंक बाँडे । 

यस बराबरीपछि पुलिसले लिग तालिकामा १ अंकको खाता खोलेको छ भने एनआरटी ५ खेलमा २ अंक बनाएको छ ।

Logo