ललितपुर मेयर्सलाई हराउँदै एपीएफ क्लब विजयी

ललितपुर मेयर्सलाई हराउँदै एपीएफ क्लब विजयी


सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो । खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले २० ओभरमा आठ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो । 

एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र बिनु बुढाले १२ रन बनाइन् ।  बलिङतर्फ ललितपुर मेयर्सकी सिमाना केसी र सृष्टी जैसीले दुई/दुई तथा सोनी पाख्रीन र मनिषा उपाध्यायले एक/एक विकेट लिइन्।

ललितपुर मेयर्सका लागि ब्याटिङ गर्दै सोनी पाख्रीनले १५ तथा लक्ष्मी चौधरी र सिमाना केसीले १०/१० रनको योगदान दिए ।  बलिङतर्फ एपीएफ क्लबकी राजमती ऐरी र बिनु बुढाले दुई/दुई तथा इन्दु बर्मा, सीता राना मगर र शुष्मा श्रेष्ठले एक/एक विकेट लिन सफल भए । 

एपीएफ क्लब लिग चरणका चारवटै खेल जितेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले लिग चरणको एक खेल अगावै उपाधि भिडन्त पक्का गरेको थियो।

आयोजक ललितपुर मेयर्स लिग चरणका चारवटै खेलमा जितबिहीन रह्यो । ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल मधेस प्रदेश र कोशी प्रदेशबीच हुँदैछ ।  
 

Logo