जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, उभिएर खानुपर्ने बाध्यता

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, उभिएर खानुपर्ने बाध्यता


क्षमताभन्दा ६३ प्रतिशत बढी कैदीबन्दी रहेको जलेश्वर कारागार महोत्तरीमा ठाउँको अभाव भएपछि ति कैदीबन्दी उभिएर खाना खान बाध्य भएका  छन्।

२०० कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ५५० कैदीबन्दी छन् । कारागारभित्र ठाउँको अभावमा ति कैदीबन्दीहरु कष्टकर जीवन बिताउन बाध्य भएको कारागार प्रशासनले जनाएको छ । 

 बजेट तथा श्रोत साधनको अभावमा कारागारभित्र रहेका कैदीबन्दीहरुको जीवन कष्टकर हुदै गएको बताउँदै जेलर रामचन्द्र साह भन्छन्, ‘बस्ने ठाउँको अभाव, वर्षायाममा पानी चुहिने गरेकाले उनीहरुलाई खान र सुत्न समस्या हुने गरेको छ ।’ 

कारागार कहिले  निर्माण भएको यकिन तथ्याङ्क नभए पनि राणाकालमा सो कारागार निर्माण भएको अनुमान गरिएको छ । यतिमात्र नभई संघीय सरकारले सिधा खर्च बापत प्रत्येक कैदीबन्दीलाई दिनको ७ सय ग्राम चामल र ८० रुपैया नगद दिने गर्छ। जुन ‘हात्तीको मुखमा जिरा’ जस्तो भएको त्यहाँका कर्मचारीहरुले टिप्पणी गर्छन् । 

आर्थिक रुपमा कैदीबन्दीहरुको अवस्था गम्भीर रहेकोले थप आर्थिक आम्दानीको लागि कारागारभित्र करिब ४० जना कैदीबन्दीहरुले मुढा बनाए पनि बजारको अभावमा बिक्री हुन सकेको छैन । 

कैदिबन्दी बस्ने तीनवटा लामो हल रहेको र प्रत्येक हलमा ३५ देखि ४० जनासम्म कोचिएर बस्ने गरेकाले विभिन्न रोगको जोखिमहरु बढ्न गएको छ । कारागार भित्र १४ वटा शौचालय, पुस्तकालय, औषधी पसल, किरना पसल र चिकित्सकहरुको व्यवस्थाभएपनिभौतिक संरचनाको अभावमाति कैदीबन्दीहरु प्रभावित हुँदै आएको छ ।

२०७४ सालमा कारागारभित्र बाढी पसेपछि कारगार डुबानमा परेको स्मरण गर्दै सूचना अधिकारि रविन्द चन्द (ठाकुर)ले भने, ‘पुरानो तथा जीर्ण कारागार भए पनि यहाँ जेल जीवन बिताउने कैदीबन्दीप्रति राज्यको ध्यान गएको छैन ।’ 

संघीय सरकारले प्रति कैदीबन्दीलाई सिधा खर्चबापत एक करोड ६ लाख रुपैयाँ दिने गरेको भए पनि सो रकम अपुग भएको लेखा प्रमुख टिकाराम ओलीले बताएका छन् ।

कारगाराभित्र रहेका ५५० जना कैदीबन्दीलाई वर्षमा ७० लाख २६ हजार २५० रुपैयाँ मूल्य बराबरको चामल, २८ लाख ५० हजार मुल्य बराबरको वर्षमा सबै कैन्दीबन्दीलाई दुईजोर कपडा, कैदिबन्दीलाई सेवा सुविधा बापत १९ लाख ५० हजार, कैदीबन्दीहरुलाई अन्य ठाउँमा हस्ताणतरणको लागि वार्षिक १ लाख ५० हजार, इन्धनबापत वार्षिक ५० हजार, सवारी साधनमर्मत खर्च २५ हजार मात्र संघीय सरकारले दिने गरेको छ । कैदीबन्दीहरुको उपचार गर्ख ५ लाख दिने गरेको छ । 

अपुग रकमहरु माग गरिए पनि संघीय सरकारले थप रकम नदिँदा कारागारभित्रको समस्या यथावत रहेको कारागार प्रशासनले जनाएको छ । अहिलेको आर्थिक मन्दीको कारण समानहरुको मूल्य उच्च रहेकोले कैदीबन्दीलाई सिधा बापत दिने चामल र रकमले जीवन धान्न समस्या परेकोले उक्त रकम बढाउनु पर्ने माग कैदीबन्दीको रहेकाे छ ।

Logo