केन्द्रबिन्दु पोजेटिभ न्युज, पोजेटिभ भाइब्स [भिडियोसहित]

केन्द्रबिन्दु पोजेटिभ न्युज, पोजेटिभ भाइब्स [भिडियोसहित]


देशमा भएका केही सकारात्मक समाचारहरु-

१. मिटरब्याजलाई अपराध मान्ने गरी कानुन निर्माण हुने

सरकारले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माको भनाई छ ।

घरायसी व्यवहारमा १० प्रतिशत भन्दा बढीको दरमा ब्याज लिन नपाइने कानुन भए पनि कानुनले मिटरब्याजलाई अपराधका रूपमा परिभाषित गरेको थिएन । मन्त्रिपरिषद्को मंगलबारको निर्णयअनुसार कानुन संशोधन भएमा मिटरब्याजी साहुकारमाथि अपराधमा अनुसन्धान गरी सरकारले नै मुद्दा चलाउने बाटो खुल्नेछ । पछिल्लो समय महोत्तरीबाट ११ दिन पैदलै हिँडेर काठमाडौं आएर मिटरब्याजपीडितले सरकारलाई दबाब दिएपछि कानुन संशोधनको तयारी भएको हो ।

२.आधा सकियो मेलम्ची पानी वितरण हुने पाइपको परीक्षण

मेलम्ची खानेपानी वितरणका लागि बिच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । कुल १ हजार १० किमि पाइपमध्ये हालसम्म ५७६ किमिमा परीक्षण सकिएको हो । आगामी असार मसान्तसम्म सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयले जनाएको छ । 

३.वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाएको छ । सार्वजनिक बिदाका दिनबाहेक कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका नेपालीले मोबाइल नंबरमा भाइबर, ह्वाट्स् एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने जनाइएको छ । फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृत खटिएका वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याका कारण बिरामी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको हो । बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवासमेत उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ । आइतबार र शुक्रबार धेरैजसो गन्तव्य देशमा सार्वजनिक बिदा पर्ने भएकाले पनि यस दिन विशेषज्ञ सेवा उपलब्ध गराइने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

४.पशुपति मन्दिर परिसरमा प्लास्टिक लैजान निषेध

पशुपतिनाथ मन्दिर परिसरमा बुधबारदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिक जन्य सामग्रीका कारण फोहोर बढ्दै गएको जनाउँदै पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो ।

५. एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी व्यवस्था लागू हुने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक एक लाखसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न भनेको हो ।
 
६. बिजुली उत्पादन क्षमता २५०० मेगावाटमाथि

४४ मेगावाटको सुपर मादी जलविद्युत परियोजना आइतबार राष्ट्रिय प्रसारणमा जोडिएपछि नेपालको राष्ट्रिय प्रसारणलाइनमा जडित क्षमता २ हजार ५२६ दशमलव ९ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा मात्रै ३७६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । यही वर्ष १८ वटा नयाँ आयोजनाले विद्युत उत्पादन थालेका छन् ।

Skip This
Logo