छरिएका रकमहरु पुँजीको रुपमा जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ- माधव नेपाल

छरिएका रकमहरु पुँजीको रुपमा जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ- माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् ।  

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले  घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए ।

उनले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने बताए । उनले छरिएर रहेको रकमलाई पुँजीको रुपमा जम्मा गर्दा लगानीमा उपयोग हुनसक्ने र लगानीको निम्ति पैसाको अभाव नहुने स्थिति बन्ने बताए । 

अध्यक्ष नेपालले भने, ‘सहकारीको बेग्लै महत्व हुनेगर्छ । कसैले सहकारीलाई निजी भित्र राखेर दुई वटाको चर्चा मात्रै गरे हुन्छ भन्ने गर्छन् । होइन, यसलाई महत्व दिने हो भने यसलाई तीन वटा क्षेत्रको रुपमा तीन वटा खम्बाको रुपमा, यसलाई तीन खम्बे अर्थतन्त्र पनि भन्छन् । तीन खम्बे अर्थतन्त्र अहिलेको नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । यो तीन खम्बा भित्र निजी, सहकारी, राजकीय क्षेत्र पर्छ । यि तीनको अनुपात के हुनुपर्छ भन्नेकुरा पनि वहसको विषय छ । निजी क्षेत्रले कति अनुपात ओगट्ने, सहकारीले कति र सरकारी क्षेत्रले कति भन्ने छलफल र वहस हुनुपर्छ । हामी चाहन्छौँ घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा हुन पाए हुन्थ्यो । हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरु उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यको समग्र रकम पनि राज्यसँग रहेको कोषमा पनि वृद्धि हुनसक्थ्यो । लगानीमा उपयोग हुनसक्ने थियो । लगानीको निम्ति पैसाको अभाव हुने थिएन । किनभने थोपा थोपाले नै विशाल समुन्द बन्छ । थोपा थोपा रकम जम्मा गर्ने हो भने, मानिसहरुसँग छरिएर रहेका रकम जम्मा गर्ने हो भने त्यसको आकार ठूलो हुन्छ । यस बीचमा आवश्यक्ता पर्दा ऋण लिन जाँदा विभिन्न क्षेत्रले ऋण लिएका मान्छेहरु समस्यामा परेको सुनिन्छ । मिटरब्याजीको समस्या पनि सुनेका छौँ । रकम लिएको भन्दा दोब्बर रुपका कागजमा हस्ताक्षर गर्छन् । जग्गा जमीन पहिल्यै धितो राखेर लिएको पाइन्छ । मिटरब्याजको नाममा भएको अत्याचारको बिरुद्धमा सरकारले कदम चालिसकेको छ ।’  अध्यक्ष नेपालले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकार अघि बढीसकेको उल्लेख गरे । 
 

Logo