काठमाडौं । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुआत गरेको छ ।
साविक विजेता पोखराले आइतबार काठमाडौं गोल्डेन्स वारीयर्सलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । काठमाडौंले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य पोखराले १४.१ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।
पोखराको सहज जितमा ओपनर कुशल भुर्तेल ४३ बलमा ६५ रनमा अविजित रहे । त्यस्तै रविइन्दर सिंह ३२ बलमा ३८ रनमा अविजित रहे ।
आशिफलाई सुसन भारीले एलबी डब्लू आउट गर्नुअघि १० बलमा १ चौका सहित १४ रन जोडे । त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं गोल्डेन्स वारीयर्सले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।
प्रकाशित: २९ मंसिर २०७६ १६:३४ आइतबार