हङकङलाई हराउँदै कुवेत सेमिफाइनलमा, फाइनलका लागि नेपालसँग भिड्ने

हङकङलाई हराउँदै कुवेत सेमिफाइनलमा, फाइनलका लागि नेपालसँग भिड्ने


कुवेत एसिसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीवार मुलपानी मैदानमा भएको समूह चरणको अन्तिम खेलमा हङकङमाथि ३० रनको रोमाञ्चक जित निकाल्दै कुवेतले अन्तिम चारको यात्रा तय गरेको हो । 

कुवेतले जितका लागि दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा अलआउट हुँदै २४२ रनमा समेटिएको हो । हङकङका लागि ओपनर एवं कप्तान निकाजत खानले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेले । अजिज खान एक रनबाट अर्धशतकमा चुके । उनी ४९ रनमा पवेलियन फर्किए । यासिम मुर्ताजले ४३ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।  

बलिङतर्फ शाहरुख ब्यूडुसले सर्वाधिक ३ विकेट लिए भने यानसिन पटेलले २ विकेट तथा मोहम्मद अस्लाम, सायद मोनिव र अडान इड्रेसले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । कुवेतका लागि शिजर खान र उष्मान पटेलले अर्धशतकीय इनिङ्स खेले । शिजरले सर्वाधिक ६७ रन जोडे भने उष्मान ५० रनमा आउट भए । 

साथै अड्नान इड्रेसले ४५ रन बनाउँदा कप्तान मोहम्मद अस्लाम ३२ रन, साउद मोनिवले ३१ जोडे । विलाल ताहिर १७ रनमा अविजित रहे । 

बलिङतर्फ हङकङका इशान खानले सर्वाधिक ३ विकेट लिए । साथै आयुश शुक्ला, अजिज खान, हारुन अर्शाद, यासिम मुर्ताज र मोहम्मदले समान एकएक विकेट लिए । 

कुवेतको यो जितसँगै एसिसी प्रिमियर कपको सेमिफाइनल समिकरण पूरा भएको छ भने उपाधि दावेदार मानिएको हङकङ भने समूह चरणबाटै बाहिरिएको छ । समूह बीको कुवेतले ४ खेलमा ६ अंक जोड्दै समूह उपविजेता बनेको छ । समान अंक भएपनि युएई नेटरनरेटका आधारमा शिर्ष स्थानमा छ । 

अब कुवेतले शनिबार हुने सेमिफाइनलमा समूह ए को विजेता घरेलु टोली नेपालको सामना गर्ने भएको छ । सबै चार खेल जितेर नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले आज सानदार बलिङका साथ कतारलाई ६८ रनले पराजित गरेको थियाे ।सोही दिन हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता युएईसँग समूह ए को उपविजेता ओमानले खेल्ने भएको छ । 

Logo