गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । 

गभर्नरको कार्यालयमा शुक्रबार भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको गभर्नरको सचिवालयले जनाएको छ । 

गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराए । 

सो अवसरमा उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिएको धारणा राखे । 

नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उनले राखे । 

भेटका अवसरमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका उच्च अधिकारीहरूको सहभागिता थियो । यसैगरी, विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स म्यानेजर लादा स्ट्रेलकोभा, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख फायलगायतको  उपस्थिति थियो ।

Logo