भारतका तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङमा एसिया कप २०२३ को फाइनलमा श्रीलंका सस्तैमा अलआउट भएको छ ।
कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा अलआउट हुँदै ५० रनमा समेटिएको हो । घरेलु मैदानमा श्रीलंकाका कुनै पनि खेलाडीले खुलेर प्रदर्शन गर्न सकेनन् । कुशल मेन्डिसले सर्वाधिक १७ रन तथा दुसान हेमन्थले १३ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन छुन सकेनन् ।
पहिलो ओभरको तेस्रो बलमै जसप्रित बुमराहबाट ओपनर कुशल परेरालाई शून्यमा गुमाएको श्रीलंकाले चौथो ओभरमा मात्रै ४ विकेट गुमायो । शिराजको चौथो ओभरको पहिलो बलमा अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए । दोस्रो बल सदीरा समराविक्रमाले खेलेनन् । तेस्रो बलमा उनी एलबीडब्ल्यू आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि शिराजले पवेलियन फर्काए ।
शिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डि सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए । शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गरे । त्यसपछि ११औं ओभरमा कुशल मेन्डिसलाई पनि १७ रनमा आउट गर्दै ६ विकेट पूरा गरे ।
साथै हार्दिक पाण्ड्याले तीन विकेट लिए ।
प्रकाशित: ३१ भदौ २०८० १७:२४ आइतबार